काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मधेसमा बढ्दो अराजकताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको मूल जड ‘तस्करी’ रहेको दाबी गरेका छन् । उनले वर्तमान सरकार, विशेषतः गृहमन्त्रीको कार्यकालमा तस्करीमा ऐतिहासिक वृद्धि भएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले मधेसमा लामो समयदेखि तस्करीको प्रभावमा अराजकता फैलिएको बताउँदै यसमा सरकारकै संलग्नता वा उदासीनता रहेको संकेत गरे ।
'अराजकता बढिरहेको छ, र यसको मूल कारण तस्करी हो,' सिंहले भने, 'इजी मनीले अराजकतामा मलजल गरिरहेको छ। तर, सरकार तस्करी नियन्त्रण गर्नुपर्ने ठाउँमा अझ बढावा दिइरहेको देखिन्छ।'
उनका अनुसार वर्तमान गृहमन्त्रीको पालामा तस्करी झनै तीव्र भएको छ। “तस्करी अहिलेको गृहमन्त्री आएपछि झनै बढेको हो। इतिहासमै यति धेरै तस्करी कहिल्यै देखिएको थिएन,” उनले भन् ।
यस्तै उनले पूर्वमन्त्री जयप्रकाश गुप्ताको सप्तरीस्थित निवासमा हतियारधारी समूहले दोहोरिएको आक्रमण प्रयासप्रति संसदमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सिंहले दुई रात लगातार पूर्वमन्त्री गुप्ताको कञ्चनपुरस्थित घरमा हतियारधारी समूह पुगेको र उनी घरमा नभएको अवस्थामा कामदारमाथि कुटपिट गरेर फर्किएको जानकारी दिए ।