काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदनमा आफूलाई दोषी किटान नगरेको दाबी गरेका छन्।
संसदीय समितिले प्रतिवेदन सदनमा बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुरुदेखिनै आफूले दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए।
उनले भने-‘मैले दोष देखिए कारबाही भोग्छु भनिरहेको छु। कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा छु। राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु।’
उनले आफूले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड रहेको जिकिर गरेका छन्। उनले समितिले नाम किटान नगरेको भन्दै राजीनामा नदिने पनि बताए ।
यसैबीच, सभापति खतिवडाले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको तर, आफूबाट नभएको भन्दै स्पष्टीकरण दिएका छन् ।
संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले गरेको सोधपुछका क्रममा खतिवडाले यस्तो बताएका हुन् ।
खतिवडाले सोधपुछका क्रममा व्यक्त गरेको धारणाको संक्षेपीकरणमा यस्तो उल्लेख छ । जुन प्रतिनिधिसभा समितिका सभापति जीवन परियारले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
खतिवडाले भनेका छन्–‘निश्चय नै त्रुटि नभएको भन्ने होइन तर मबाट होइन । म कुलिङ अफ पिरियड राख्ने पक्षमा सुरुदेखि आजसम्म छु र भोलि पनि राष्ट्रिय सभाले यो राख्ने प्रावधान ल्यायोस् भन्ने पक्षमा छु ।’
निजामती सेवा विधेयक पारित गर्दै गर्दा सरकारी कर्मचारी सबैलाई कुलिङ पिरियड लागु गर्ने गरी प्रावधान राखिएको बताएका उनले भनेका छन्–‘निजामती र सरकारी भन्ने दुवै कुलिङ अफ पिरियडमा राखुको कारण सरकारको सुविधा लिएकाहरु सबैलाई समेट्न खोजिएको हो ।