काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ अफ पिरियडको प्रावधानमा भएको छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
हिजो बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाइसकेको छ।
उक्त प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्याएको छ । उनले आवश्यक समन्वय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यसैमा टेकेर रास्वपाले खतिवडाको राजीनामा मागेको हो ।
हिजोको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ । सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरिएको छ ।
बैठकले रुपन्देहीमा उपचुनाव लड्ने उद्देश्यले पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गरेको छ ।