काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले माओवादी केन्द्रले ०८४ को प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
हालै समपन्न स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको उनले बताए । हाल माओवादी पार्टीका विभिन्न मुक्तिमोचाहरु पार्टी निर्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुमत आउने उनले बताए ।
दर्शन, विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्ने सङ्कल्पका साथ पार्टीले केही समय अघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको उनले जानकारी दिए ।
पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताए।
महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्ग अभियानले पार्टीको जनसम्बन्धलाई झनै सुदृढीकरण बनाएको उनको दाबी छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले कहिले एमाले, कहिले काँग्रेससंग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद परिवारप्रति उदासिनता भएको, जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गरे ।
पार्टीले २०८४ सालमा एकल बहुमत हासिल गर्नको लागी समाजवादी क्रान्तिको रुपरेखा र मागचित्र स्पष्ट पारेको उनले बताए ।