काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको बिषय झुटो भएको दाबी गरेका छन् ।
सामाजिक मूल्य र मान्यतामा प्रभाव पार्ने कुनै पनि विधेयक सदनमा पेस नहुने प्रतिवद्धता जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकका क्रममा आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिन मंगलबार समामुख देवराज घिमिरेसँग समय मागेका कानूनमन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले भने- ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेस नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, ‘सामाजिक व्यवस्था नै खलल गर्ने गरी कानून निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन।’
कानूनमन्त्री चौरसियाले मन्त्रिपरिषद्को विधेयक समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको विषयमा सांसदहरूले चासो व्यक्त गरी उठाएका प्रश्नमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए।
यसबारे सदनमा पनि कुरा उठेपछि कानुनमन्त्री चौरसियाले बहुविवाहलाई वैधता दिने गरी कानुन संशोधन नगरिने बताएका हुन्