काठमाडौं । प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले अछाम जिल्लामा पर्ने दुई महत्वपूर्ण पुलको बजेट कटौतीप्रति कडा असन्तुष्टि जनाएका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कुँवरले बुढीगंगा नदी तथा तुर्माखाँद गाउँपालिका र तल्लो डुंगेश्वर क्षेत्रस्थित कर्णाली नदीमा निर्माणाधीन मोटरेबल पुलका लागि गत वर्ष विनियोजित डेढ–डेढ करोड रुपैयाँ बजेट यो वर्ष कटौती गरिएको भन्दै गम्भीर आपत्ति प्रकट गरेका हुन् ।
“यी दुवै पुल कर्णाली करिडोर र सेती लोकमार्गसँग प्रत्यक्ष जोडिएका रणनीतिक पूर्वाधार हुन्,” सांसद कुँवरले संसदमा भने, “तर, सरकारको बजेटमा यी परियोजनाको रकम नै हटाइएको छ। यस्तो निर्णय किन गरियो ? के कारण थियो ? यसको स्पष्ट जवाफ चाहिन्छ।”
कुँवरले पुल निर्माणले अछाम, डोटी, बाजुरा र दैलेखलगायतका दुर्गम पहाडी जिल्लालाई सुगमसँग जोड्ने भएकाले त्यसको राष्ट्रिय महत्व रहेको उल्लेख गरे ।
उनले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको दाबी गरे पनि व्यवहारमा विपरीत कार्य भइरहेको भन्दै ध्यानाकर्षण गराएका छन्।