काठमाडौं । सत्ता हाँकिरहेको दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले घुमाउरो तरिकाले सरकारकै विरोध गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय शासकहरूकै कमजोरीले देशमा प्रतिक्रियावादीहरूले खेल्न खोजेको बताए।
नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकारको नेतृत्वप्रति घुमाउरो भाषामा कटाक्ष गरेका बास्कोटाले यस्तो प्रवृत्तिप्रति सांसदहरू र जनताले सचेत रहनुपर्नेमा जोड दिएका छन्।
पछिल्लो समय समाजमा क्रान्ति, परिवर्तन र प्रगतिका सूचकहरूप्रति जनताको विश्वास कमजोर हुँदै गएको बताउँदै उनले भने–‘०६२–०६३ को ऐतिहासिक जनआन्दोलन र त्यसले स्थापना गरेका मूल्य–पद्धतिहरूको अर्थ नभएको जस्तो गरी प्रचार हुँदैछ । केही स्वघोषित तत्वज्ञानीहरूले आफ्ना आकांक्षालाई समाजमा थोपर्ने प्रयास गर्दैछन्। समाजलाई उनीहरूको सोचअनुसार नचाउने सपना देख्दैछन्। तर यस्तो सोच आफैँमा भ्रममात्र हो।’
सांसद बास्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो ? भन्दै प्रश्न गरे । उनले वर्तमान सकारले केही सकारात्मक काम गरेको भए पनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
सांसद बास्कोटाले अहिले दलहरूले केही गर्न नसकेको भन्ने भाष्य स्थापित गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन खोजिएकोप्रति सबै सचेत हुन आवश्यक रहेको बताए ।
बास्कोटाले संविधान संशोधनप्रति गरिएको प्रतिबद्धता अझै कार्यान्वयन नहुँदा सार्वजनिक रूपमा सरकारमाथि प्रश्न उठिरहेको बताए ।
उनले भने–‘यो समीकरणले केही कुराहरू उठाएको थियो । तर भन्नुपर्छ–संविधान संशोधनको विषय कहाँ पुग्यो ? त्यो विषय अब अगाडि आउनुपर्छ । र हामीले आफूले आफूलाई पनि समीक्षा गर्नुपर्छ । सुधार्ने ठाउँहरूमा सुधार गर्न तयार हुनुपर्छ । सुध्रिनुपर्ने ठाउँमा सुध्रिनका लागि पनि तयार हुनुपर्छ । अहिले एउटा भाष्य निर्माण गर्न खोजिँदै छ । यो व्यवस्थालाई कमजोर बनाउनको निम्ति कसैले केही गरेन भन्ने जुन भाष्य निर्माण गर्न खोजिँदै छ । यो लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने कुरा हो । पङ्गु बनाउने कुरा हो । अरूलाई दोष थुपारेर आफू उम्किने कुरा पनि हो । लोकतान्त्रिक अभ्यासलाई अझै सुदृढ र गतिशील बनाउनुपर्छ ।’