काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिज टी–२० क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनको हार ब्यहोरेको हो ।
शनिबार डार्विनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरे । नन्दन यादव १४ रनमा अविजित रहे भने ओपनर आसिफ शेखले २८ रन बनाए । तर, अन्य ब्याटरहरू नचल्दा नेपालले लक्ष्य पछ्याउन सकेन ।
यसअघि, बंगलादेशका लागि जिसन आलमले ७३ रनको उत्कृष्ट पारी खेले । उनले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई बलियो स्कोर बनाउन मद्दत गरे । यस्तै, आफिफ होसैनले अविजित ४८ रन जोडे भने कप्तान महिदुल इस्लाम अन्कोनले २६ रन बनाए ।
नेपालका बलरमध्ये करण केसी, गुलशन झा, नन्दन यादव, कुशल मल्ल, सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
बंगलादेशको बलिङमा हसन महमुदले २ विकेट लिए भने तोफेल अहमद, रकिबुल हसन र मन्डलले एक–एक विकेट हात पारे।
यो हारसँगै नेपालले सिरिजमा लगातार दोस्रो पराजय खेपेको छ । यसअघि नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।