काठमाडौं । उपभोक्तामाथिको ठगीविरुद्ध आक्रमक रुपमा उभिएका बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दहाललाई ६ महिनामै विभागबाट सरुवा गर्नुमा ठूलो विचौलिया समूहको हात रहेको खुलेको छ ।
विदेश पठाउने विद्यार्थीसँग बढी पैसा असुल्ने कन्सलटेन्सीका गिरोहदेखि स्कुल सञ्चालन गर्दै आएका ठूला शैक्षिक माफिया तथा करोडौं अन्तशुल्क छली गर्ने राजश्वमारा व्यापारीको स्वार्थमा चल्न नसकेका कारण दहाललाई ६ महिनामै हटाइएको हो ।
दहालले निजी विद्यालयले लिइरहेको चर्को शुल्क रोक्न र एमआरपी अनिवार्य रुपमा लागू गर्न खोजेका थिए ।
उनले परराष्ट्रमन्त्री आरजु राणा देउवाको लगानी रहेको युलेन्स स्कुललाई नियमन गरी प्रक्रियामा ल्याउन खोजेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओली निकट झापाका व्यापारी द्विराज शर्माको अल्फाविटा कन्सलटेन्सीमा छापा हानी विद्यार्थीहरुलाई ठगी हुनबाट रोक्न सुरुवात गरेका थिए ।
युलेन्स, रातो बंगला, नाइटिङ्गेल, मिल्स बेरी, डीएभी, काठमाडौं यूरो, पाठशाला, यूनाइटेडलगायतका निजी विद्यालयहरुले मनोमानी रुपमा चर्को शुल्क असुलेको गुनासो आएपछि दहालले अनुगमन थालेका थिए ।
यी विद्यालयहरुमाथि कारबाही स्वरुप जरिवानाको तयारी गरेपछि शैक्षिक माफियाहरु एक भएका थिए । यहि समयमा दहाल अर्को विचौलिया समूहको टार्गेटमा परे ।
श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानीको समूहले विचौलियाका रूपमा परिचित दीपक भट्टमार्फत दहालको सरुवा गराउन प्रधानमन्त्री कार्यालयसम्म दबाब दिएको थियो ।
बिभागले २०८२ बैशाख २ गते श्रीराम टोबाको कम्पनीको उत्पादन बिक्री गर्ने मुख्य डिलर ललितपुरको पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिमा छापा हानी उक्त कम्पनीका उत्पादनहरुमा तौल कम देखिएकाले सिलबन्दी गरेको थियो ।
पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेगरी चार जिल्लाको डिलर सिपको जिम्मा पाएको छ ।
सिलबन्दीपश्चात बिभागले बोलाउँदा हाजिर नभएका श्रीराम टोबाको कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल लगायतलाई ३ दिनभित्र उपस्थित हुन दहालले लिखित पत्राचार गरे ।
त्यसपछि प्रधानमन्त्रीको सचिवालय, उद्योग मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव आनन्द भट्ट मात्र होइन, उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवाली नै श्रीराम टोबाकोको कम तौल, उपभोग्य मिति र अन्तःशुल्क स्टीकर समेत नटाँसिएका गुट्खा बरामद प्रकरणलाई ढाकछोप गरी उल्टै दहालको सरुवा गराउन सफल भएको स्रोत बताउँछ ।
स्रोतका अनुसार ज्ञवालीले दहाललाई फोन नै गरेर गुट्खा प्रकरण मिलाउन दबाब दिएका थिए । तर, दहालले सुनेनन् ।
त्यसो त मधेश प्रदेशको साइकल खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका सहसचिव यमलाल भूसाल, मध्यरातमा अर्थमन्त्रालयमा गएर जनार्दन शर्माको पालामा बजेटमा करका दर हेरफेर गर्ने पूर्व नायबसुब्बा रघु घिमिरेसमेत कमलकिशोर मालपानीलाई जोगाउन लागिपरे ।
श्रीराम टोबाको र करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रालिमा रहस्यमय रुपमा संचालक बनेका बिचौलिया दीपक भट्टले समेत मालपानीलाई उन्मुक्ति दिलाएर दहाललाई सरुवा गराउन प्रमुख भूमिका खेलेका थिए ।
बार्षिक २ अर्बभन्दा बढी कारोबार गर्ने श्रीराम टोबाको कम्पनीले करयोग्य रकम कम देखाएर करोडौं करछली गर्दैआएको छ ।
श्रीराम टोबाकोबाट उत्पादित चार प्रकारका गुट्खामा उत्पादन, उपभोग्य मिति उल्लेख नभएको र तोकिएभन्दा कम तौल भेटिएको थियो । वाणिज्य बिभागले बैशाख २ गते अनुगमन गर्दा श्रीराम टोबाटोबाट उत्पादित करेन्ट गुट्खा, भोला गुट्खा, पावर खैनी र जित खैनी चारै ब्राण्डका गुट्खामा उत्पादन, उपभोग्य मिति र तोकिएभन्दा कम तौल भेटेको थियो ।
त्यसो त श्रीराम टोबाकोको नाममा मालपानीले सुपारी तस्करीको धन्दा गर्दै आइरहेको विभाग स्रोत बताउँछ ।
गुट्खामा अन्तःशुल्क स्टीकरदेखि अर्बौंको कारोबार करोडमा मात्र देखाएर करछली गर्दैआएको श्रीराम टोबाकोले २०७९ मा २३ सय मेट्र्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको थियो । यत्रो परिमाणमा सुपारी आवश्यक नै नभए पनि उसले भारततर्फ तस्करीकै लागि गुट्खा उत्पादनका नाममा आयात गर्दैआएको छ ।
स्रोतका अनुसार दीपक भट्टले शक्तिकेन्द्र मिलाएर श्रीराम टोबाकोको नाममा सुपारीको कोटा बढी लिने गरेका छन् । जुन सुपारी भारततर्फ तस्करी हुँदैआएको विभाग स्रोत बताउँछ ।
भट्टले मालपानीलाई अन्तशुल्क र करछलीमा मात्रै होइन नक्कली नागरिकता प्रकरणमा पनि जोगाउँदै आएको स्रोत बताउँछ ।
मालपानीले अंगिकृत नागरिकता लिनुपर्नेमा झुटो विवरण पेश गरी बंशजको लिएका छन् ।
नक्कली नागरिकता प्रकरणमा जोगाइदिए वापत भट्टले हिमालयन एसेस्ट्स म्यानेजमेन्ट प्रालिका नाममा ३ लाख ७५ हजार कित्ता सेयर श्रीराम टोबाको सेयर लिएको स्रोतको दावी छ ।
मालपानीको कम्पनीबाट लिएको सेयर र नागरिकता प्रकरणका बारेमा भट्टसँग अनलाइन नेपालले प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।