काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० शृंखलामा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीसँग सम्पन्न खेलमा नेपाल ३२ रनले पराजित भएसँगै हालसम्म खेलेका तिनवटै खेलमा पराजित भएको हो ।
डार्विनस्थित टिआइओ रंगशालामा टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।
१७६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएपछि नेपालले हार ब्यहोरेको हो ।
नेपालका लागि आशिफ शेखले ५३ रनको पारी खेलेका थिए भने कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए ।
त्यसअघि मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले ४७ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी थोमस रोजर्सले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ र साम हार्परले अविजित ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिए ।