काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको नापी विभागको सरुवा बढुवामा आर्थिक चलखेल हुँदै आएको छ ।
मन्त्री बलराम अधिकारीको ग्रिन सिग्नल पाएका नापी विभागका सर्भेक्षक पदमा कार्यरत कविसिंह कठायत उपत्यकाको कलंकी लगायतका मालदार अड्डामा बसेर करोडौं कमाएर रजाइँ गरेका निजामती कर्मचारीका नेता हुन् ।
कठायतले नापी विभाग अन्तर्गत रहँदा समेत कर्मचारी संगठनको आडमा पैसा उठाउने र कर्मचारीहरुको सरुवा चलखेल गर्ने त्यतिबेलादेखि नै चर्चा चल्ने गर्दथ्यो । कठायतकी श्रीमती नापी विभागमा नै सर्भेक्षक पदमा कार्यरत छिन् । र, श्रीमतीलाई कमाउ अड्डा डिल्लीबजारमा गैरकानूनी काजमा राखेका छन् ।
कठायतले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशको छैटौं तहको पदमा समायोजन भई गएपश्चात् तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सचिवालयमा रहेर निकै चलखेल गरेका थिए ।
कर्मचारी स्रोतका अनुसार पैसा असुल्न र पैसा कसरी खाने, कसरी झार्ने भन्ने विषयमा खेलाडी रहेका कठायतले पैसाको जोहो गर्न मुख्यमन्त्रीको सचिवालयमा समेत भ्याए ।
सचिवालयमा बसेर रकम उठाएर मुख्यमन्त्री शंकर पोखरेलको क्वाटरमा पुर्याउने, चाकडी गर्ने गरेकै कारण मुख्यमन्त्री शंकर पोखरेलको रोजाईको खास मान्छे बन्न पुगे कठायत ।
शंकर पोखरेलको कोटाबाट बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त भए । उनी मन्त्री भएपछि उक्त मन्त्रालयमा चलखेल गर्न शंकर पोखरेलले कविसिंह कठायतलाई जबर्जस्ती मन्त्री अधिकारीको सचिवालयमा टाँसो लगाइदिएको पोखरेल निकट स्रोत बताउँछ ।
त्यसभन्दा अगाडि मन्त्री बलराम अधिकारीको कठायतसँग चिनजान थिएन । कठायतकै जोडबलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशको दशौं तहमा कार्यरत प्रमुख नापी अधिकृत अनिल मरासिनी मन्त्री अधिकारीको सचिवालयमा भित्रिए ।
मरासिनी अनुभव भएका, जथाभावी काम नगर्ने, भूमि प्रशासनमा दख्खल राख्ने कर्मचारी हुन् । निजी सचिव मरासिनी हुन् तर सचिवालय कविसिंह कठायतले चलाइरहेका छन् । कविसिंह कठायतले काठमाडौं उपत्यकाका कार्यालय, उपत्यका बाहिरका कार्यालय र ठाउँ–ठाउँमा उनका खास मन्छेलाई एजेन्ट बनाएका छन् ।
कठायतको मोवाइल जफत गरेर डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गर्ने हो भने को को एजेन्ट रहेछन् र तिनको गतिविधि थाहा भइहाल्छ ।
मन्त्री अधिकारीलाई सर्भेक्षक (सुब्बा) लेवलका कर्मचारी कविसिंह कठायतले टुप्पीमा समाएर रिंगाइरहेका छन् । फाइदा आफूले लिएका छन्, बदनाम मन्त्रीको भइरहेको छ ।
शंकर पोखरेलले पठाएको मान्छे सचिवालयबाट हटाउन पनि सक्दैनन् । विगत दुई वर्षको नापी विभाग अन्तर्गतको सरुवाको लिष्ट लिएर नापी विभागका महानिर्देशकलाई उनै कठायतले भेट्थे र मन्त्रीज्यूको लिष्ट भनी दवाब दिएर सरुवा गराउँथे ।
जबकि उक्त लिष्टमा मन्त्रीका २–४ जना कर्मचारी हुन्थे भने बाँकी सबै कठायतले पैसा उठाएका कर्मचारी हुन्थे । सायद नापी विभागका महानिर्देशकले कार्यसम्पादन, सुगम दुर्गम हेरेर दण्ड र पुरस्कार गर्न नै पाएनन्, आफ्ना मान्छे त परै जाओस् ।
यसरी कठायतले गत बर्षको सरुवामा ठूलो रकम उठाएको आरोप लागेको थियो । जसमध्ये केही हिस्सा लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री शंखर पोखरेलको घरमा पुर्याएका थिए ।
मन्त्री अधिकारीलाई एक तिहाई हिस्सा दिएर बाँकी सबै रकम आफैंले कुम्ल्याएको आरोप कठायतमाथि लागेको थियो । उनले मनमैजुको कार्यालय प्रमुखको सरुवामा मोलमोलाई गरी लाखौं असुलेको आरोप छ ।
‘मनमैजुको कार्यालय प्रमुख हुन कठायतलाई आकर्षक दररेट अफर गर्दा पनि मेरो सरुवा भएन, अब आफैं अनुमान गर्नुहोस्, सरुवा भएका नापी अधिकृतसँग कठायतले कति कुम्ल्याए ?’–एक नापी अधिकृतले गुनासो गर्दै भने ।
मन्त्री बलराम अधिकारीलाई कठायत ‘भालुको कन्पट’ बनेका छन् । बदनामीले नेटो काटिसक्यो, पार्टीका महासचिवका मानिस भएकाले हटाउन पनि सक्दैनन् । अधिकारी पोखरेलकै कोटाबाट मन्त्री भएकाले पनि कठायतका अगाडि उनी निरीहजस्तै छन् ।
यस बर्ष नापी विभागले गर्ने सरुवाको लिष्ट कठायतको डायरीमा तयार भइसकेको छ । रकम धमाधम उठिरहेको छ । मन्त्रालयले गर्ने प्रमुख नापी अधिकृतको सरुवामा उपत्यकाको कार्यालयको लागि कठायतले ४ जना प्रमुख नापी अधिकृत पूर्णप्रसाद पाण्डे, उमेशकुमार साह, शत्रुघनप्रसाद यादव र शिवप्रसाद लम्सालबाट प्रिपेड बुझिसकेका छन् । उपत्यकामा कलंकी, चावहिल, भक्तपुर र ललितपुर चारठाउँमा मात्र सरुवा गर्न मिल्छ ।
डिल्लीबजारमा यसअघि नै डिल्लीराज भण्डारीले कविसिंहलाई रकम बुझाएर सरुवा भइसकेका छन्, उक्त ठाउँ खाली थियो । मन्त्रीभन्दा पनि माथिबाट सोर्स आउँछ भन्ने कठायतले ख्यालै नगरी चार ठाउँको लागि अग्रिम पैसा उठाइसकेको बताइन्छ ।
पैसा उठाइएका चारैजना प्रमुख नापी अधिकृत पूर्णप्रसाद पाण्डे, उमेशकुमार साह, शत्रुघनप्रसाद यादव र शिवप्रसाद लम्सालको उपत्यकाको कार्यालयमा सरुवा हुने परिस्थिति प्रतिकूल बन्दै गएकाले पैसा फिर्ता दिन मन्त्री अधिकारीले कठायतलाई भन्दा पनि कठायतले फिर्ता नगरी चारैजनाको सरुवाका लागि शंकर पोखरेलको आडमा मन्त्री अधिकारीसँग अड्डी लिएर बसेको स्रोत बताउँछ ।
शिवप्रसाद लम्साल यसअघि नापी कार्यालय डिल्लीबजार बसेका हुन् । नेपाल भरत बोर्डर सर्भेको टोली नेता बनेर नापी कामदारहरुको नक्कली दस्तखत गरेर, गाडी मर्मत, इन्धन लगायतको नक्कली बिल भर्पाई बनाएर करोडौं रकम निकालेर पेश्की फछ्र्यौट गरी नेपाल सरकारको करोडौं रकम अन्य कर्मचारीलाई भोकै पारेर एक्लै झ्वाम पार्ने ब्यक्ति हुन् ।
त्यतिमात्रै हैन नेपाल–चीन सीमामा दोलखाको लामाबगरबाट उत्तरतर्फ टिम्पामा सीमास्तम्भ नं. ५७, ५८ र ५९ नेपालको ६ हेक्टर जमिन चीनतर्फ पर्नेगरी सीमा स्तम्भ नं. ५७, ५८ र ५९ गाडेर दस्तखत गरेर उनले राष्ट्रघाती काम गरेका थिए ।
लम्सालसमेतले नेपालको भूभाग चीनको हो भनी दस्तखत गरी चीनले नेपालको भूभाग भित्र्याएकोमा हाल पुरानो सीमास्तम्भ फेला परे पनि लम्साल समेतले नेपालको तर्फबाट सिमा स्तम्भ नं. ५७, ५८ र ५९ गाडेर दस्तखत गरेको कागज देखाएर चीनले नेपाली भूभागमा किचलो मच्चाइरेको छ ।
यसरी ६ हेक्टर नेपाली भूभाग चीनतर्फ पर्नेगरी सीमा स्तम्भ नं. ५७, ५८ र ५९ गाडेर दस्तखत गरी आउने शिवप्रसाद लम्सालसमेतलाई देशद्रोहको अभियोगमा सीआईबीले तत्काल हिरासतमा लिनुपर्ने सिमाबिद्हरुको भनाइ छ ।
यसैबीच, भूमि ब्यवस्था मन्त्री अधिकारीको सचिवालयमा कार्यरत कविसिंह कठायतले सरुवामा आफ्नो कुनै हात नहुने प्रतिक्रिया दिए ।
उनले भने–‘सम्बन्धित बिभागले सरुवा गर्ने हो, मेरो कुनै भूमिका हुँदैन । तपाईलाई मेराबारेमा जसले समाचार दिए, ती खराब कर्मचारी हुन् । अर्काको बदनाम गर्न खोज्ने त्यस्ता कर्मचारीबाट सतर्क रहनुहोला । मैले कुनै पनि नापी कार्यालयमा सरुवामा आर्थिक लेनदेन गरेको छैन ।’
तपाईले श्रीमतीलाई शक्तिको आडमा डिल्लीबजार नापी कार्यालयमा काजमा राख्नुभएको रहेछ भन्ने अनलाइन नेपालको प्रश्नमा उनले भने–‘मेरो श्रीमती नापी बिभागमा कार्यरत छिन् । डिल्लीबजारमा होइन ।’