काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पालिकामाथिका सबै तहका जनप्रतिनिधिलाई केन्द्रीय कार्यसमितिमा समेट्ने निर्णय गरेको छ । आइतबार र सोमबार काठमाडौंमा सम्पन्न दुईदिने केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागी लुम्बिनी प्रदेश सांसद धर्मबहादुर चौधरीका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा अद्यावधिक प्रक्रियालगायत एजेन्डामा छलफल भएको थियो ।
यसबीच, पार्टी संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले बैठकबारे औपचारिक जानकारी नदिएको भन्दै “सबै प्रकारका सम्बन्ध समाप्त” भएको घोषणा गरेका छन् ।
पार्टीले भने संरक्षक चौधरीमाथि राज्यले नै बन्देज लगाएको निष्कर्ष निकाल्दै बैठकका निर्णयहरू उनलाई बुझाउने जनाएको छ ।
नाउपाको हालैको निर्णयले पार्टीभित्रको आन्तरिक द्वन्द्वबीच नेतृत्व सुदृढीकरण र संरचनागत विस्तारतर्फ नयाँ मोड लिएको देखिएको छ । विश्लेषकहरूले यसलाई स्थानीय तहका जनप्रतिनिधि सशक्तिकरणतर्फको कदमका रूपमा पनि व्याख्या गरेका छन् ।