काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा अर्थमन्त्री बन्ने तयारीमा रहेका पूर्व अर्थसचिव डा. रामेश्वर खनालले अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।
स्रोतका अनुसार, उनले मन्त्री भएबापतका निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेका हुन् ।
मन्त्री बन्ने पक्का भएपछि उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ।
खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् । पूर्व अर्थसचिव खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए ।
उनले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूले गरेको करछलिका विषयमा मतभेद भएपछि अर्थसचिवबाट राजीनामा दिएका थिए।