काठमाडौं । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।
सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने पनि जानकारी गराए ।
उनले भने–‘जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्। उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ। गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिए।
उनले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गएको बताए। आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।
यही भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी समूहको आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने सयौंजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भएको छ।
संसद भवन, सिंहदरबार,राष्ट्रपति भवन, सर्वोच्च अदालत, व्यापारी भवनलगायत निजी सम्पत्तिसमेत आगजनीबाट ध्वस्त भएका छन्।