काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टी युवाहरूको आकांक्षा पूरा गर्नका लागि अघि बढ्ने क्रममा विविध छलफल हुँदाहुँदै पनि जेनजीहरूले प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।
सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेका उनले कार्यकर्ता तथा सञ्चारकर्मीलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने- 'युवाहरूले धैर्यता गरेको भए नेकपा एमाले नै उहाँहरूको आकांक्षा पूरा गर्ने पार्टीका रुपमा अगाडि आउँदै थियो । हामीले त्यस प्रकारका संकल्प र योजना अघि सारेका थियौं । बिडम्बना भन्नुपर्छ, हामीले त्यस प्रकारका योजना र संकल्प व्यवहारमा लागू गर्न पाएनौं ।'
पार्टीको विधान महाधिवेशनमा पनि युवाहरूको आकांक्षा सम्बोधन गर्नेगरी विविध छलफल भएको र त्यही अनुसार अघि बढ्न खोजिएको उनले बताएका छन् ।
उनले थपे- 'लामो संघर्षबाट २०७२ सालमा प्राप्त संविधान दिवस असोज ३ गते पर्छ । उक्त दिवस हामी खरानीकै थुप्रोबाट मनाउने छौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ । '
महासचिव पोखरेलले असोज ३ गते खरानीको थुप्रोबाटै संविधानस दिवस मनाउन पनि एमालेजनलाई निर्देशन दिए ।
यस्तै अन्तरिम सरकारको मूल काम सुरक्षाको वातावरण बनाउने र समयमै निर्वाचन गराउने भएकाले त्यसतर्फ ध्यान जाने आफू विश्वश्त रहेको पोखरेलले बताए ।