काठमाडौं । एसिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलंकालाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हराएको हो ।
श्रीलंकाले दिएको १६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर पाँच बलमा छ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि मोहम्मद सैफ हसनले ६१ र तौहिद हृदयले ५८ रन बनाए ।
श्रीलङ्काका पिन्नदुवागे वानिन्दु हसरंगा र दासुन शनकाले समान दुई तथा नुवान तुषारा र दुष्मन्थ चमेराले समान एक विकेट लिए ।
त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्गाले सात विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो । श्रीलङ्काका लागि दासुन शनकाले अविजित ६४ र कुसल मेन्डिसले ३४ रन बनाए ।
बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन, महेदी हसनले दुई र तस्किन अहमदले एक विकेट लिए । यो जीतसँगै बङ्गलादेशले सुपर–४ मा महत्त्वपूर्ण दुई अङ्क जोडेको छ ।