Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जेनजीको उदयपछि पनि अर्बौंको तस्करीमा संलग्न साहलाई उन्मुक्ति दिन सीआईबी र बाणिज्यमा चलखेल

जेनजीको उदयपछि पनि अर्बौंको तस्करीमा संलग्न साहलाई उन्मुक्ति दिन सीआईबी र बाणिज्यमा चलखेल

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागका महानिर्देशक कुमारप्रसाद दाहालको कीर्ते हस्ताक्षर र नक्कली छाप प्रयोग गरी विवादास्पद नागरिक पवनकुमार साहले २ अर्बभन्दा बढी मूल्यको केराउ आयात गरेको खुलेको छ ।

तस्करीमा बद्नामी कमाएका साहले विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालको नक्कली दस्तखत र कार्यालयको छाप प्रयोग गरी पछिल्लो समयमा ५ हजार टन केराउ आयातको अनुमतिपत्र तयार पारेका थिए । जुन कुरा दाहालले नै पत्रकार सम्मेलनमार्फत् पुष्टि गरेका थिए ।

उनले पत्रकार सम्मेलन नै आयोजना गरी साहले कीर्ते पत्र तयार गरेको र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा समेत छानबिनका लागि पत्र पठाएको बताएका थिए । तर, सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले भने यसबारे आफूलाई जानकारी नभएको र केही समयपछि बुझेर जानकारी दिने प्रतिक्रिया दिए । तर पछि पटक–पटक खड्कालाई सम्पर्क गर्दा पनि उनले फोन नै रिसिभ गरेनन् ।

दाहालको सरुवापछि साहले कीर्ते काण्डबाट जोगिन बाणिज्य बिभागका हालका महानिर्देशक रोशन ज्ञवालीलाई मिलाइसकेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक बिचौलियामार्फत् सीआईबीमा समेत चलखेल गरी छानबिन गर्नबाट रोकेको बिभाग स्रोतले बताएको छ ।

साहलाई सरकारी छाप र दस्तखत कीर्तेमा कारबाहीका लागि बाणिज्य बिभागले सीआईबीलाई पठाएको पत्रको बिषयमा के जवाफ आयो भन्ने अनलाइन नेपालको प्रश्नमा बिभागका महानिर्देशक ज्ञवाली अकमकिंदै पत्रको बारेमा विस्तृत जानकारी त्यही शाखाका प्रमुख डिकबहादुर कार्कीलार्ई सोध्नुस् भनेर पन्छिए ।

जेनजी समूहको प्रदर्शनबाट भ्रष्टाचारबिरोधी सरकार गठन भइसक्दा समेत बाणिज्य बिभाग र सीआईबीले कीर्ते गर्ने र तस्करीमार्फत् देशको अर्थतन्त्र खोक्रो बनाउने पवनकुमार साहजस्ता ओलीनिकट बिचौलियाहरुलाई जोगाउन खोजेको प्रष्ट देखिन्छ ।

साउन अन्तिम साता बाणिज्य बिभागले सीआईबीलाई केराउ र पोस्तादाना आयातको कीर्ते अनुमतिपत्र बनाउने साहलार्ई पक्राउ गरी कारबाही गर्नका लागि पत्र लेखेको थियो ।

साहले आफ्नी श्रीमती रश्मीदेवी साहको नाममा दर्ता रहेको सत्यम् एग्रो प्रालि मार्फत् कीर्ते अनुमतिपत्र बनाएर तस्करी गर्दैआएका छन् ।

पत्रमा तत्कालीन महानिर्देशक दाहालको कीर्ते दस्तखत खुलेपछि बीरगञ्ज भन्सार कार्यालयले पनि छानबिनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा भदौ १८ गते नै उजुरी दर्ता गरेको छ ।

बीरगंज भन्सारका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीले महानिर्देशकको हस्ताक्षर हो कि होइन भन्ने एकीन गर्नुपर्ने भएकाले अनुसन्धानका लागि प्रहरीमा उजुरी गरेको यसअघि नै बताइसकेका छन् ।

विभागको अभिलेखमा पत्र नदेखिएकाले छानबिनका लागि प्रहरीलाई गुहारेको ज्ञवालीले बताएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले विभागबाट पत्र आएको पुष्टि गर्दैै जेनजी आन्दोलनका कारण छनबिन हुन नपाएको र अहिले छानबिन प्रक्रिया अघि बढिसकेकोे आइतबार अनलाइन नेपालसँग बताए ।

नेपाल सरकारले केराउ र पोस्तादाना आयातमा प्रतिबन्ध लगाएको छ । तर, साहले भने सोही पत्र देखाएर ३० हजार केजी केराउ तस्करी गर्ने प्रयास गरे पनि उनी सफल हुन सकेनन् ।

प्रतिबन्धित वस्तु आयातका लागि सरकारी कार्यालयबाट सिधै अनलाइमार्फत् भन्सारमा जानकारी गराउने गरिन्छ । तर, साहले भने नक्कली पत्रको हार्डकपी नै पेश गरेकाले भन्सार कार्यालयले ३० हजार केजी केराउ नियन्त्रणमा लिएको थियो । उक्त केराउ नियन्त्रणमा लिएपछि साहको कीर्ते धन्दा बाहिर आएको हो ।

रक्सौल र बीरगञ्जमा ‘त्रिभुवन’ नामले चिनिने पवनकुमार साह तिनै व्यक्ति हुन्, जो यसअघि अवैध इलेक्ट्रोनिक सिगरेट (भेप) तस्करी, जीबी राईसँग मिलेर सहकारी ठगीमार्फत् जग्गा खरिद लगायतका विवादास्पद घटनामा मुछिएका थिए ।

साहले नक्कली विवरणका आधारमा नेपाली नागरिकता लिएको पनि खुलेको थियो । उनका भाइ रतन साहले भने अहिलेसम्म नेपाली नागरिकता लिन सकेका छैनन् । बीरगंज बसेर अबैध सुनको कारोबार र दाजुको तस्करीमा सहयोग गर्दैआएका छन् ।

कीर्ते पत्र प्रकरणमा तत्कालीन महानिर्देशक दाहालले आफ्नो दस्तखत नभएको र अवैध कारोबारमा संलग्न फर्म तथा व्यक्तिलाई कारबाही गर्न सार्वजनिक रूपमा अपील गरे पनि सरकारले भने आँखा चिम्लिएको छ । उल्टै तिनै पवन साहहरुको कुरा सुनेर तत्कालीन प्रधानमन्त्री ओलीले दाहाललाई बिभागबाटै सरुवा गरी समावेशी आयोगमा थन्क्याइदिएका छन् ।

देशको २५ प्रतिशत तस्करीको नेटवर्क चलाउने भनेर चिनिएका पवनकुमार साहलाई जोगाउन ठूलो आर्थिक लाभ लिएर यतिबेला प्रहरीदेखि भन्सार कार्यालयसम्म लागेको पाइएको छ ।

विभागले पत्र नक्कली भएको लिखित जवाफ दिँदादिँदै भन्सारले केवल दस्तखत प्रमाणीकरणमा जोड दिएकाले मुद्दा कमजोर बनाउन खोजिएको देखिन्छ । सीआईबीले पनि तत्काल पक्राउ गरी अनुसन्धान गर्र्नुपर्ने उल्टै साहलाई संरक्षण गरेको आरोप लागेको छ । साहजस्तै तस्करहरुको योजनामा दाहाल सरुवामा परेपछि बाणिज्य विभागले कुनै पनि कारबाही गरेको छैन ।

दाहालले यसअघि पनि यस्तै नक्कली कागजात प्रयोग गरी पोस्तादाना आयातको प्रयास भएको र सबै प्रमाण सीआईबीलाई उपलब्ध गराए पनि अनुसन्धान नभएको बताउँदै आएका छन् ।

भन्सार र प्रहरीको नियतमाथि प्रश्न उठाउँदै उनले भनेका थिए–‘सर्वसाधारणले सरकारी छाप कीर्ते गर्दा तुरुन्त पक्राउ हुन्छ, तर अरबौंको अवैध आयातमा संलग्न उच्च तहका व्यक्तिलाई किन कारबाहीको दायरामा ल्याउन सकिँदैन ?

को हुन् पवनकुमार साह ?
राजस्व अनुसन्धान विभागले गएको २३ पुस, २०८१ मा ललितपुरको इमाडोलबाट करिब ५० करोड रुपैयाँबराबरको अवैध इलेक्ट्रिक सिगरेट (भेप) बरामद गर्यो । उक्त भेप सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पा र शंकास्पद नागरिक त्रिभुवन साह उर्फ पवन साहको थियो ।

राजस्व अनुसन्धान बिभागले साहका तस्करी गर्नका लागि स्थापित १२ वटा फर्ममाथि छानबिन गरिरहेको छ । भेप साहकै भए पनि तस्करीमा मुद्दा चलाउने ठाउँ नभएपछि उनका फर्ममाथि अनुसन्धान सुरु गरिएको बिभागका एक अधिकारीले बताए ।

साह र शेर्पाले विगत केही बर्षदेखि चीनबाट नेपालका तातोपानी रसुवा हुँदै भेप तस्करी गरी भारतमा बिक्री गर्दैआएका छन् । साहले रमेश शेर्पामार्र्फत् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म सम्बन्ध बढाएका थिए ।

प्रचण्ड प्रधानमन्त्री हुँदा साह शेर्पालाई लिएर सोझै बालुवाटारमा पुगी गंगा दाहालमार्फत् तस्करीको सेटिङ गर्थे । पछिल्लो समयमा भने उनले ओलीनिकट बस्नेत थरका बिचौलियामार्फत् तस्करी गर्दैआएका थिए ।

बस्नेतले नै बाणिज्य बिभागका महानिर्देशक कुमार दाहाल र लेखा अधिकृत प्रल्हाद सापकोटाको हस्ताक्षर कीर्ते गरी साहको सत्यम् एग्रोको नाममा केराउ र पोस्तादानाको नक्कली आयात अनुमतिपत्र बनाइदिएको बिभागका एक उपसचिवले अनलाइन नेपालसँग बताए । साहसँगै ती बिचौलिया पनि सीआईबीको अनुसन्धानको घेरामा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077