Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नवराजकुमार र नवराजकुमारीहरु कै कारण जेनजीको जन्म !

नवराजकुमार र नवराजकुमारीहरु कै कारण जेनजीको जन्म !

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । १७ हजार नेपाली जनताले ज्यान गुमाएको तत्कालिन माओवादीको १० वर्षे जनयुद्व र २० जनाले ज्यान गुमाएको २०६२–०६३ को जनआन्दोलनपछि आएको गणतन्त्रमा पनि जनताको चाहना अनुसारको शासन हुन सकेन । लोकतान्त्रिक गणतन्त्रमा जनताको चाहना अनुसारको शासन भन्दा पनि भ्रष्टाचार र वेथितिले जरा गाड्यो ।

जसका कारण भदौ २३ र २४ गते जेनजी पुस्ताहरुको अगुवाइमा भएको आन्दोलनमा सरकार नै ढल्न पुग्यो । २ दिनको आन्दोलनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार मात्रै ढलेन हालसम्म ७३ जना नेपाली नागरिकले ज्यान गुमाइसके भने देशकै प्रमुख प्रशासनि भवन सिंहदरबार खण्डहर बन्यो ।

त्यतिमात्रै होइन, संसद भवन, सर्वोच्च अदलात, काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालय, देशभर रहेका कतिपय सरकारी कार्यालय र अदालत तथा राजनीतिक दलका नेताहरुको निजी सम्पत्ति समेत ध्वस्त भए ।

देशको प्रमुख कार्यकारी पदमा पुगेका एकाध बाहेकका नेताहरु भ्रष्टाचारमा लिप्त हुँदा जेनजीहरु सडकमा आउन बाध्य भएका थिए । पदमा पुगेका अधिकांश नेताका भाइभतिजा, छोराछोरी र केही भरौटे नै शासन सत्ताका हर्ताकर्ता बन्न पुगे । तिनीहरुले नै सत्ताको दुरुपयोग गरे । बाबु, काका भिनाजु सत्तामा पुग्दा नवराजकुमार, नवराजकुमारीहरु हावी भए ।

यही बेला राजनीतिक तथा विशिष्ट व्यक्तिहरूका सन्तानले पाएको विशेषाधिकार र पहुँचविहीन जनतामाथि परेको बोझविरुद्ध नेपाली युवाहरुले पनि नेपोबेबी नेपाल सुरु गरिसकेका थिए ।

‘नेपोबेबी नेपाल’ नामक टिकटक अभियानमार्फत युवारूले ‘नेपो बेबी’ को हैसियतमा विलासी जीवन बिताइरहेका ठूला घरानाका सन्तानविरुद्ध एकपछि अर्को भिडियो सार्वजनिक गर्दै आए । जसले जेनजी आन्दोलनलाई सहयोग गरिरहेको देखिन्थ्यो ।

देशभित्र मौलाएको भ्रष्टाचार र वेथितिविरुद्ध युवाहरु एक भइसकेको बेला पनि विचौलिया र तस्करहरुको राज चलिरहेकै थियो ।

बालुवाटार कब्जा गरेर बसेका प्रधानमन्त्रीका भाइभतिजा, छोरीबुहारी र सालासालीले पार्टीका पदाधिकारीलाई घन्टौं कुराउने तर बिचौलिया र तस्करहरुलाई सहजै प्रधानमन्त्रीसँग भेट्टाउने गरेका धेरै उदाहरण पाउन सकिन्छ ।

पार्टीका पदाधिकारीले सरकारले गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन गए पनि प्रधामन्त्रीका आसेपासेहरुले उनीहरुलाई भन्दा बढी बदनाम बिचौलियाहरुलाई महत्व दिंदा अपमानबोध गर्दै नेताहरु भेट्नै नपाई फर्कनुपरेका एक होइन, धेरै दृष्टान्त पाउन सकिन्छ ।

तीन ठूला दल नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रलाई जनताबाट टाढा पुर्याउन र सत्ताको दुरुपयोग गरी पार्टीको बदनाम गराउने मुख्य भूमिका उनीहरुकै सचिवालयमा राखिएका व्यक्तिहरुले गरेको घामजत्तिकै छर्लङ्ग छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा भानु देउवाले पार्टीका नेताहरुलाई भन्दा बढी बिचौलिया र ठेकेदारहरुलाई महत्व दिएका एक होइन, अनेक उदाहरण छन् ।

भानुले देउवा ५ पटक प्रधानमन्त्री हुँदा नायबी नै चलाएका थिए । भानुले सत्ताको यति दुरुपयोग गरेका थिए कि देउवा प्रधानमन्त्री हुँदा बहिनीज्वाइँ दीपेन्द्र कुँवरलाई एसपीबाट एसएसपी बढुवा गर्न हदैसम्मको दबाब दिएका थिए ।

डीआईजी बढुवामा पनि ७ महिना रोकेर ज्वाईँलाई नै गराएर छाडे । २०५६ सालतिर सामान्य व्यक्ति रहेका भानुसँग आज चपलीमा दसौं करोडको बंगला, महंगा गाडीदेखि अरबौंको जग्गाजमिनको रहेको कांग्रेसजन नै बताउँछन् ।

शेरबहादुरको नायबी चलाएर भानुले विवादास्पद ब्यापारी, बिचौलियाहरुका काममात्र गर्ने गरेका कांग्रेसी नेताहरु नै आरोप लगाउँछन् ।

सत्ताको दुरुपयोग गरी लोकतन्त्रको बदनाम गराउने प्रमुख पात्रहरुमा भर्खरै जेनजी समूहको प्रदर्शनपछि पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नाम पनि अग्रपंक्तिमा आउँछ ।

नेकपा एमालेको नाममा जनताले दिएको मतबाट प्रधानमन्त्री भएका ओलीका स्वकीय सचिव बज्राचार्य पार्टीका केन्द्रीय सदस्य, स्थायी समिति सदस्य, पदाधिकारीभन्दा शक्तिशाली भएकैले बालुवाटारमा उनको बोलवाला थियो ।

नियुक्ति, ठेक्कापट्टा, लाइसेन्स, तस्करीको नेटवर्क चलाउने बिचौलियाहरु उनलाई खुसी पार्ने र काम फत्ते गर्ने गर्थे । प्रधानमन्त्रीको बेडसम्म पहुँच राख्ने लोकबहादुर भण्डारी, रमेश सिलवाल, द्विराज शर्मा शिवाकोटीहरुले जथाभावी विदेशी विश्वबिद्यालयलाई सम्बन्धन दिन दबाब दिंदा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा नै दिनुपरेको थियो ।

त्यस्तै विचौलिया र विवादास्पद ब्यक्तिहरुलाई बालुवाटारमा सहज पहुँच दिने, नेताहरु टाढिनाले गर्दा एमाले जनताबाट टाढा हुँदै गयो, युवापुस्तामा चरम नैराश्यता पैदा हुन पुग्यो । देशलाई भित्रभित्रै खोक्रो पार्ने धमिराका रुपमा यस्ता बिचौलियालाई हरदिन बालुवाटारमा प्रधानमन्त्रीसम्म पहुँच दिने काम बज्राचार्यले गर्दैआएका थिए ।

बज्राचार्यसँग सामीप्यता बढाएर उनको आडमा धेरै लाभ लिने बिचौलियामध्ये भक्तपुरका बस्नेत थरका एक व्यक्ति हुन् । राजेशलाई खुसी पार्न उनकी बहिनीको नाममा पेप्सीकोलामा एक मार्ट नै खोलिदिएको एमालेबृत्तमै चर्चा हुने गरेको छ ।

बस्नेत तिनै हुन् जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे, पोखरा विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेदेखि लाइटिङका अरबौंका ठेक्का नागरिक उड्डउन प्राधिकरणका डीजी प्रदीप अधिकारीसँग मिलेर सेटिङमा हत्याएका थिए ।

पहिला क्षमादेवी कन्ष्ट्रक्सन र पछि आशिष निर्माण सेवालाई ठेक्का मिलाउने काम गरी उनले बीसौं करोड अकूत सम्पत्ति आर्जन गरेको स्रोतको दावी छ ।

नेपालमा चीनबाट अरबौंको भेप, तेस्रो मुलुकबाट केराउ, पोस्तादानासहित सुन तस्करीमा समेत मुछिएका त्रिभुवन साह भन्ने पवनकुमार साहलाई बस्नेतले नै संरक्षण गर्दै आएका छन् । त्यतिमात्रै होइन साहको तस्करीको लाइन मिलाउने काम पनि उनै बस्नेतले नै गर्दै आएका छन् ।

नवीन बस्नेतले नै पवनकुमार साहको सत्यम् एग्रोको नाममा बाणिज्य बिभागका महानिर्देशक कुमारप्रसाद दाहाल र लेखा अधिकृत प्रल्हाद सापकोटाको हस्ताक्षर कीर्ते गरी केराउ र पोस्तादाना आयातको अनुमतिपत्र बनाएर अरबौंको आयात गरिएको खुलेको छ ।

त्यसैगरी, प्रधानमन्त्री हुँदा सत्ताको दुरुपयोग गरी माओवादीलाई जनताबाट अलग बनाउने पात्र हुन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री गंगा दाहाल ।

प्रचण्ड प्रधानमन्त्री हुँदा बालुवाटारमा उनकै हैकम चल्ने गरेको थियो । सिल्क ट्रान्सपोर्टको नाममा चीनबाट सुनदेखि भेप तस्करी गर्ने रमेश शेर्पादेखि दीपक भट्टहरुलाई बालुवाटारमा सहज पहुँच पुग्ने तर माओवादीका आम नेता कार्यकर्ताले भेट्न नपाउने स्थिति थियो ।

शेर्पाले त त्यतिबेला बालुवाटारमा २ वटा बीआईडी गाडी उपहार दिएर तस्करीको नेटवर्क चलाउने लाइन पाएको बिषयमा समाचार समेत प्रकाशित भएका थिए ।

गंगाले सत्ताको चरम दुरुपयोग गरेको टुलुटुलु हेर्न नसक्ने भएपछि प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा नै दिनुपरेको थियो । बिचौलियाले उपहारमा दिएका लाखौं लाख मूल्य पर्ने महंगा ब्रान्डका लुगा, ब्याग, घडी, चस्मा लगाउने प्रबृत्तिले पनि जनयुद्धमा शहीद भएकाहरुको परिवार, बेपत्ता परिवार, आमजनता सबैबाट माओवादी टाढिन पुग्यो । जसको चौतर्फी विरोध हुँदै आएको छ ।

जेनजी समूह जन्मिनुमा यी र यस्ता धेरै कारण छन् । अझै पनि शिर्ष नेताहरुले यस्तै कुकर्म दोहोर्याउने हो भने उनीहरुको भविश्य पनि अन्धकार हुने देखिन्छ । अझै पनि भ्रष्टाचार र वेथितिलाई नै साथ दिने हो भने जसरी जेनजी आन्दोलनमा नेताका घर खण्ठहरु बनेका छन्, त्यसैगरी उनीहरुको जीवन पनि खण्डहर बन्नेमा दुइमत छैन र उनीहरुमा अब सच्चिनुको विकल्प पनि छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077