काठमाडौं । साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले आज साबिक विजेता भारतसँग खेल्दैछ । कोलम्बो रेसकोर्स मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो ।
प्रतियोगितामा अपराजित रहेको भारत नौ अङ्कसहित आफ्नो समूहको विजेता बनेको छ । नेपाल भने समूह ‘ए’ को उपविजेता हो । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो ।
नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० ले पराजित गर्दा दोस्रो खेलमा साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भयो ।
अन्तिम खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० ले हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।