काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जित हासिल गरेको छ ।
मलेसियाको कुआलालम्पुरमा भएको सिरिजमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै जीत आफ्नो पोल्टामा पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएको थियो । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् । रुबी पोद्दारले १५ रन बनाइन् । नेपालको शून्यमै २ विकेट गुमिसकेको अवस्थाबाट पूजा र रुबीले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि पूजा र इन्दुले ३७ रनको साझेदारी गरे ।
मलेसियाकी आयना हमिजाले २ विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले १/१ विकेट लिए ।
मलेसियाका लागि आइना हमिजाले अविजित ५० रन बनाइन् । कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् । नेपालकी सोमु विष्टले २ तथा कविता कुँवरले १ विकेट लिए।
नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो ।आगामी जनवरीमा आयोजना हुने टी-२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरुप सोही प्रतियोगिताको तयारी स्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालले आयोजक राष्ट्रसँग पाँचवटा टी-२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ । तेस्रो खेल अब आइतबार हुनेछ ।