काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयात र विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) भुक्तानी सीमामा वृद्धि गरेको छ ।
केन्द्रीय बैंकले शुक्रबार एकीकृत परिपत्र संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो ।
नयाँ प्रावधान अनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्याइएको छ ।
यसले सुन कारोबारमा लचीलोपन ल्याउने तथा बजार आपूर्तिमा सहजता आउने राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, विदेशबाट आउने विप्रेषणको भुक्तानी सीमामा पनि परिवर्तन गरिएको छ । अब नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी तथा संस्थाका शाखा कार्यालयहरूले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका प्रयोजनका लागि विदेशबाट प्राप्त हुने तथा फिर्ता गर्न नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राही ९बेनेफिसियरी० को खातामा दैनिक २५ लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्नेछन् ।
यसअघि यो सीमा २० लाख रुपैयाँ मात्र थियो । नयाँ प्रणालीअनुसार रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित कानुनी प्रावधानअनुसार ग्राहक पहिचानका आवश्यक कागजात अनिवार्य रूपमा लिनुपर्नेछ ।
त्यससँगै, नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४(४) को ढाँचामा मासिक रूपमा तयार गरी प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।