काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको नाम लिएर कुनै पनि अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ।
केही दिनयता विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यमहरूमा ‘आइजीपी खापुङले ओली र लेखकलाई पक्राउ गर्न दबाब सिर्जना भए वा बाध्य पारिए राजीनामा दिन्छु’ भन्ने आशयका समाचारहरू प्रकाशित–प्रसारित भएको भन्दै नेपाल प्रहरीले शुक्रबार एक विज्ञप्ति जारी गरी त्यसप्रति आपत्ति जनाएको हो।
केन्द्रीय प्रवक्ता रहेका डिआईजी विनोद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक तथा प्रतिवेदनहरूमा शान्ति–सुरक्षा र समसामयिक चुनौतीहरूको विश्लेषणमा मात्र केन्द्रित भएर सौहार्दपूर्ण छलफल भएको हो।’
नेपाल प्रहरीले सार्वजनिक रूपमा आइजिपीको नाममा प्रचारित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गलत समाचारले संस्थाको छवि प्रभावित पार्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ–‘नेपाल प्रहरी शान्ति–सुव्यवस्था कायम गर्ने संवैधानिक दायित्वप्रति प्रतिबद्ध छ र संस्थागत मर्यादाविरुद्धका भ्रामक समाचारहरूमा भ्रम नफैलाउन सबैलाई अनुरोध गर्दछ।’