काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी पत्रअनुसार घटनाको तथ्यगत र वस्तुनिष्ठ अनुसन्धानका लागि समिति गठन गरिएको हो।
सिन्धुली जिल्ला, सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय दल बहादुर विकलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो।
बिक वैशाख ७ गते बिहान हिरासत कक्षको शौचालयमा आफ्नै लगाएको कालो रंगको सटको पासो घाँटीमा लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए।
झुन्डिएको अवस्थामा फेला परेका विकको उपचारका क्रममा मृत्यु भएको थियो ।
विकको मृत्युपछि घटनाको तथ्यगत तथा वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा नेपाल प्रहरीको मानव स्रोत तथा प्रशासन शाखाका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक इन्द्रजित सुनार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रेम रेग्मी र सोही कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र सापकोटा सदस्य रहेका छन्।
विकको मृत्युपछि हिजोदेखि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६ जना सांसद र दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा धर्नामा बसेका छन् ।
प्रहरी हिरासतमै विकको मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक, आशिष गजुरेल प्रशासनअघि धर्नामा बसेका थिए ।
सांसद सुनारले प्रहरीले श्रीकृष्णको हत्या गरेको आरोप लगाउँदै आएका छन् । अन्तरजातीय बिहेको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई हिरासतमा कुटेर हत्या गरेको र घटना दबाउन सीडीओ र एसपीले दबाब दिएको पीडितको आमालाई उद्धृत गर्दै सुनारले फेसबुकमा लेखेका थिए ।
सीडीओ, एसपी र खुर्कोटका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने, संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग थियो ।
श्रीकृष्णले खोटाङकी १७ वर्षीय किशोरीसँग चैत २८ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए।
ललितपुरमा भाइसँग बस्दै आएका उनी विवाह गरेपछि सिन्धुली फर्केका थिए। ललितपुरको सातदोबाटो प्रहरी वृत्तले किशोरीको परिवारले कुरा गर्न खोजेको भनेर वैशाख ३ गते बोलाएपछि उनीहरू फेरि ललितपुर फर्केका थिए।
त्यसपछि सातदोबाटो प्रहरी वृत्तमा किशोरीका परिवारसँग छलफल गर्न पुगेका श्रीकृष्णलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएर भोलिपल्ट सिन्धुली पठाएको थियो।
ललितपुर प्रहरीले उनै किशोरीले बलात्कारको जाहेरी दिएपछि घटनास्थल सिन्धुली भएका कारण थप अनुसन्धानका लागि उतै पठाइएको बताएको थियो।
सांसदहरुसमेत धर्नामा बसेपछि प्रहरी प्रधान कार्यालयले आजै छानविन समिति गठन गरेको हो ।
प्रहरी प्रधान कार्यालयले सूक्ष्म अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ।
