काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका नेपाल प्रहरीका चार एआईजीले दर्ज्यानी चिन्ह (फूली) लगाएका छन् ।
१२ दिनअघि बढुवा सिफारिस भएर विहिबार मात्रै एआईजीमा बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बरबहादुर विक आज फूली लगाएका हुन् ।
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
फूली लगाउन अघि नै चारै जना एआईजीको पदस्थापन भइसकेको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले चारै जना डिआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गर्दै पदस्थापन समेत गरेको थियो ।
जस अनुसार राठौरको अपराध अनुसन्धान विभाग, चतुर्वेदीको कार्य बिभाग, श्रेष्ठको प्रशासन बिभाग र बिकको प्रदेश समन्वय बिभागमा पदस्थापन भएको छ ।
बढुवाअघि राठौर प्रशासन विभागमा निमित्त प्रमुख रहेकाले उनी बढुवापछि त्यही पदस्थापनको प्रयासमा थिए । तर, उनलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।
प्रहरीको पुननिर्माण र निर्वाचनका लागि बजेट आउने भएकाले प्रशासन विभाग चारै एआईजीको रोजाइमा परेको थियो । तर, त्यसमा श्रेष्ठले बाजी मारेका छन् ।