काठमाडौं । पदोन्नति भएका ५ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीम कुमारी पाण्डे, प्राविधिक प्रहरी उपरीक्षकहरू ईशामाया केसी, मोहन सिंह धामी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू मिनु अवाले र अशोक केसी रहेका छन् ।
नेपाल सरकार गृहमन्त्री स्तरको २०८२ माघ १९ गतेको निर्णयअनुसार ५ जना प्रहरी अधिकृतहरूको पदोन्नति भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै सांगठनिक उद्देश्य प्राप्तिमा थप योगदान पुर्याउन समेत निर्देशन दिए ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।



