काठमाडौं। नेपालले आइसिसी पुरुष टि-२० एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा आज संयुक्त अरब इमिरेट्स (युएई) विरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरेका हुन्।
जापान विरूद्धको खेलको सुरूवाती ११ लाई प्रशिक्षक स्टुवार्ट लले निरन्तरता दिएका छन्।
नेपाल र युएई दुवैको लागि विश्व कप छनोट र उपाधि जित्ने सम्भावना बलियो बनाउनका लागि आजको खेल निकै महत्वपूर्ण छ।
समान २ अंकसहित अघि बढेका यी दुई टोली जारी छनोटमा अपराजित छन् । आजको खेलमा एउटा टोलीको अपराजित यात्रामा पूर्णविराम लाग्नेछ। जित्ने टोलीले भने विश्व कप छनोटसँगै उपाधितर्फ एक कदम अघि बढ्नेछ।
नेपाली टोलीले यसअघि ओमानी भूमीमा महत्वपूर्ण खेलमा त्यो पनि युएईसँग भोगेको हारको शृंखलालाई तोड्नुपर्ने चुनौती समेत रहेको छ।
नेपाल र युएईको टि ट्वान्टी पछिल्लो भेट युएईमा नै भएको थियो। त्यो प्रतियोगिता थियो एसिया कप छनोट । त्यसको सेमिफाइनलमा हारेपछि नेपाल लगातार दोस्रो पटक एसिया कप खेल्ने मौकाबाट विमुख हुनुपरेको थियो।
त्यति बेला नेपाललाई हराउँदै छनोट चरण पारेको गरेको युएई र ओमानले यसै महिना युएईमा भएको एसिया कप खेलेका थिए।
एसिया कप छनोटको सेमिफाइनलमा हारेको झन्डै डेढ वर्षपछि नेपालले त्यहि मैदानमा युएईको सामना गर्दैछ । अर्को नेपालले युएईलाई ओमानको मैदानमा खेलेको ३ वटा खेलमा हराउन सकेको छैन। त्यो हारको सिलसिलालाई तोड्न आज नेपालले यसअघि छनोटका २ खेलका कमजोरीमा सुधार गर्नै पर्छ।
नेपालले यसअघिकै टोलीलाई यूएईविरुद्ध निरन्तरता दिएको छ।
नेपालको प्लेइङमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, कुशल मल्ल, ललित राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा समावेश छन्।