काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले १४१ रनको लक्ष्य दिएको छ ।
आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल बनाएको हो ।
नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले । आसिफले ४७ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित २८ रन थपे ।
यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर, मध्यक्रमका ब्याटरले आशाअनुसारको प्रदर्शन नगर्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन ।
आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडे ।
यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौसिक र ध्रुव परासरले समान एक विकेट लिए ।