इलाम । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ ।
जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।
उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो ।
सडक अवरुद्ध भएपछि नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ ।
यसैबीच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजिअ नेपालले बताइन् ।
तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भए पनि सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिइन् ।
ठूला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ ।