काठमाडौं । कतै तपाईं पनि स्वास्थ्यका लागि एकदमै राम्रो भन्दै विहान बेलुकै खानासँगै अकबेर अर्थात डल्ले खुर्सानी त खाइरान्नु भएको छैन ? यति त्यसो हो भने तपाईको स्वास्थ्यमा असर पर्न सक्छ । हुनत स्वास्थ्यका लागि अकबरे खुर्सानी साह्रै नै लाभदायिक छ ।
अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ, तर यो खुर्सानी जति पिरो हुन्छ उत्तिनै स्वास्थ्यका लागि फाइदाजनक पनि छ । यसले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ ।
अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्टिक तथा अल्सर जस्ता रोगहरु निको हुन्छ र नियमित सेवन गर्दा यसले मोटोपना घटाउन मद्धत गर्छ ।
चिकित्सकहरुका अनुसार अकबरे खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धिमात्र होइन अन्य रोगीलाई समेत फाईदा पुर्याउँछ ।
तर, काठमाडौंमा पाइने अकबरे खुर्सानी भने स्वास्थ्यका लागि हानिकारक भएको पाइएको छ । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि यसको रहस्य खुलेको हो ।
यसअघि बिहीबार मात्रै कालीमाटी तरकारी बजारमै बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
आज मकवानपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा अकबरे खुर्सानीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त अकबरे खुर्सानी उपभोग अयोग्य रहेको जनाइएको छ ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।