काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी नायब महानिरीक्षक (डीआइजी) पदमा तिहारपछि मात्र बढुवा प्रक्रिया अघि बढ्ने भएको छ ।
हाल चार पद रिक्त रहेकोमा तिहारपछि थप एक पद खाली हुनेछ । त्यसपछि पाँच एसएसपीलाई डीआइजीमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको समझदारी छ ।
१२ कात्तिकमा डीआइजी संजीव शर्मा दासले अवकाश पाउँदैछन् । उनको अवकाशपछि पाँच डीआइजी पद पद रिक्त हुनेछ। यसपटक ११२ को टोलीबाट बढुवा हुनेछन् । सो ब्याचबाट एक दर्जन क्षमतावान अधिकृत छन् ।
यो ब्याचका बिश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन प्रतिस्पर्धामा छन्।
उनीहरुमध्ये पहिलो नम्बरमा रहेका अधिकारीलाई अहिले पहिलो नम्बरमै रहन समस्या हुने देखिन्छ । जेनजी आन्दोलनमा गोली चलाएको आरोप उनीमाथि छ ।
उनीपछि दोस्रो नम्बरमा रहेका भूपेन्द्र खत्री नेपाली कांग्रेस निकट मानिन्छन् । उनलाई विगतदेखि नै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अगाडि बढाउँदै ल्याएको हुँदा २ नम्बरमै आउन समस्या देखिन्छ । यद्यपी अधिकारी र खत्री दुबैको व्यवसायिक प्रहरी अधिकृतको रुपमा पहिचान छ ।
तेस्रो नम्बरमा रहेका सानुराम भट्टराई कार्यक्षमताका दृष्टिकोणले कमजोर मानिन्छन् । अन्तरजातीय विवाह गर्ने सर्लाहीका जोडीमाथि ज्यादती गरेको घटनाले उनी छानविनमा तानिएका थिए । विगतमा केपी ओलीको पिएसओ भएकै आधारमा उनी बढुवामा अघि तानिएका थिए ।
ओम अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले मध्यम क्षमताका अधिकारी मानिन्छन् । उनीहरु कुनै पनि विवादमा नपरेका अधिकृत हुन् । अबिनारायण आइजीपी चन्द्रकुबेर खापुङको गाउँले भएकाले जसरी पनि यही बेला बढुवा हुने दाउमा छन् ।
सोमेन्द्रसिंह राठौरको पहिचान कांग्रेस निकट छ । एयरपोर्टमा बसेर उनले भिटिज भिसाको सेटिङलाई मलजल पुर्याउँदै आएको आरोप छ । उनी कांग्रेस सभापति शेरबहादुर देउवा मानिन्छन् । दिपशमशेरमाथि पनि जेनजी आन्दोलनमा बल प्रयोग गरेको आरोप छ ।
गोपालचन्द्र भट्टराई आइजीपीकै सचिवालयमा कार्यरत रहेकाले उनी पनि बढुवाका दाबेदार मानिएको छ ।
चाकडीमा खप्पिस मुकुन्द मरासनी पनि दौडधुपमा लागिसकेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा लाइसेन्स प्रकरणमा मुछिएका उनी पोखरामा दिपक मनाङेलाई स्यालुट हानेर भाइरल भएका थिए ।
तारादेवी थापा र गंगा पन्त महिला भएकाले उनीहरुमध्ये एक बढुवामा अटाउने सम्भावना छ ।
रिक्त सिट कम तर आकांक्षी धेरै भएकाले यसपटक पनि बढुवामा तिव्र टक्कर हुने सम्भावना देखिन्छ । यद्यपी निष्पक्ष मूल्याङकनका आधारमा बढुवा गरेमा बढुवा निकाल्न समस्या नभएको एक प्रहरी अधिकारी बताउँछन् ।
गृहमन्त्रीले स्वार्थ नराखेमा कात्तिकको दोस्रो साता डीआइजी बढुवा हुनेछ । यही ब्याचबाट २०८४ को चैतपछि आइजीपी हुने भएकाले पनि यो बढुवालाई निकै महत्वका साथ हेरिएको छ ।