काठमाडौं। भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीबाट पिटिएपछि आज पहिलो पटक सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ गतेका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन्।
बैठकमा देउवाले भने–‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’