Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

काठमाडौंका यी स्थानमा दुई महिनासम्म भेला र प्रदर्शन निषेध

काठमाडौंका यी स्थानमा दुई महिनासम्म भेला र प्रदर्शन निषेध

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका विभिन्न संवेदनशील स्थानहरूमा दुई महिनासम्म भेला, जुलुस, धर्ना र प्रदर्शन गर्न निषेध गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार जारी गरेको आदेशअनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था गरिएको छ । आदेशमा भनिएको छ, 'विरोधका क्रममा भीड उत्तेजित भई तोडफोड, आगजनी जस्ता अवाञ्छित गतिविधि हुनसक्ने, आपसी मुठभेड वा अशान्ति सिर्जना हुने सम्भावना भएकाले' निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) बमोजिम जारी आदेश आजदेखि लागू हुने गरी आगामी दुई महिनासम्म कायम रहनेछ।

आदेश अनुसार राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, राष्ट्र बैंक चोक, लैनचौर, र नारायणहिटी दरबार संग्रहालय वरिपरिका क्षेत्रहरूमा कुनै पनि प्रकारका भेला, अनसन, धर्ना, घेराउ वा जुलुस गर्न पाइने छैन ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्क सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म निषेध गरिएको छ।

हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा भेला प्रदर्शन गर्न निषेध गरिएको छ।

त्यसैगरी केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि निषेध गरिएको छ । सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म भेला प्रदर्शन निषेध गरिएको आदेशमा उल्लेख छ।

पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म, पुरातत्व विभागको चोकदेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म कुनै पनि भेला प्रदर्शन गर्न निषेध गरिएको छ।

जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेध गरिएको छ।

राष्ट्रियसभा अध्यक्षको निवास, प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास तथा राष्ट्रबैङ्क चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म भेला प्रदर्शन निषेध गरिएको आदेशमा उल्लेख छ। प्रजिअ पौडेलले राजधानीमा शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिमा क्षति हुन नदिन सर्वसाधारण, राजनीतिक दल, र विभिन्न समूहलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077