काठमाडौं । राजनीतिक दलहरूले देशभर आन्दोलन र प्रदर्शनको तयारी गरिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले शनिबार सुरक्षा निकायका शीर्ष अधिकारीसँग सामूहिक सुरक्षा समीक्षा बैठक गरेकी छन् ।
बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्री कार्कीसँग गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए ।
बैठकमा मुलुकको सामान्य सुरक्षा अवस्था, सम्भावित आन्दोलन र आगामी निर्वाचनको वातावरण निर्माणबारे विस्तृत छलफल भएको गृहमन्त्री अर्यालले जानकारी दिए ।
उनका अनुसार, छलफलको मुख्य उद्देश्य राजनीतिक असन्तुष्टिहरूलाई संवादमार्फत समाधान गर्ने र सडकमा हुनसक्ने हिंसात्मक घटना रोक्ने रणनीति तय गर्नु रहेको थियो ।
'स्थिति सामान्यीकरण गर्ने र बाँकी चुनावको वातावरण बनाउनका लागि आवश्यक शान्ति–सुरक्षाको प्रत्याभूति दिने विषयमा बैठक केन्द्रित रह्यो,' गृहमन्त्री अर्यालले भने ।
उनका अनुसार, सरकारले राजनीतिक दलका जायज माग सुन्ने संवादको ढोका खुला राखेको छ। उनले आन्दोलन तयारीमा रहेका दललाई सडकमा नजाने र संवादमार्फत माग प्रस्तुत गर्न आग्रह गरे ।
'अब सडकमा नगई पनि संवाद हुन्छ भने संवादमै आउनुपर्छ,' उनले भने, 'लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन हुनु हुँदैन। सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन।'
गृहमन्त्री अर्यालले अहिंसात्मक र जिम्मेवार आन्दोलन संस्कृतिमा जोड दिँदै राजनीतिक दलहरूलाई भविष्यमा देशको नेतृत्व गर्ने शक्ति भएकाले राजनीतिक व्यवहार र संस्कारमा परिपक्वता देखाउनुपर्ने टिप्पणी गरे।
उनले सरकारलाई ‘अभिभावक’का रूपमा चित्रण गर्दै सबै दलसँग संवाद र सहमतिमै अगाडि बढ्ने नीति सरकारको रहेको बताए।