काठमाडौं । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले पनि बदनाम सहसचिवहरूलाई नै महत्वपूर्ण जिल्लामा सीडीओ बनाएर खटाएको छ। काम गर्न नसकेको भनेर विगतमा हटाइएकाहरु समेत आइतबारको सरुवामा हाबी भएका छन्।
विगतमा कारबाहीमा परेका बसन्त अधिकारी, गोगन हमाल, बासुदेव घिमिरेलाई फेरि महत्वपूर्ण जिल्लामा खटाइएको छ ।
काठमाडौं महानगरपालिकामा हुँदा बालेनले कारबाही गरेर हटाइएका सहसचिव बसन्त अधिकारीलाई मकवानपुरमा खटाइएको छ । यसअघि बारामा हुँदा प्रहरीलाई कारबाहीको स्टन्ट गरेर उनी विवादमा परेका थिए। उनकै कार्यकालमा बारामा तस्करीको लाइन खुलेको थियो।
त्यस्तै, अर्का बदनाम सहसचिव वासुदेव घिमिरेलाई सुनसरी जस्तो संवेदनशील जिल्लामा खटाइएको छ । रुपन्देही हुँदा काम गर्न नसकेको भनेर उनी हटाइएका अधिकारी हुन्। अध्यागमन प्रमुख हुँदा पनि उनले भिजिट भिसाको सेटिङ चलाएका थिए ।
त्यस्तै, तीन महिनाअघि मात्र कैलालीबाट हटाइएका गोगनबहादुर हमाललाई बर्दियाको सिडिओमा खटाइएको छ। उनी पनि अध्यागमन प्रमुख हुँदा भिजिट भिसामा अकुत कमाएका कर्मचारी हुन्।
सहसचिव प्रेम प्रसाद भट्टराईलाई अवकाशको मुखमा ललिपतुरको सिडिओ बनाइएको छ ।
आइतबार एकैपटक गृहले ३० जिल्लाका सिडिओ हेरफेर गरेको थियो। सरुवामा सचिव रामेश्वर दंगालले काखा र पाखा गरेको आरोप लागेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत बाइपास गरेर सरुवामा केहीले चलखेल गरेको चर्चा समेत गृहमा छ ।