Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरक्षा समन्वय बैठकमा गृहमन्त्रीको निर्देशन - निर्वाचन, सुशासन र शीतलहरको तयारीमा जुट्नू

सुरक्षा समन्वय बैठकमा गृहमन्त्रीको निर्देशन - निर्वाचन, सुशासन र शीतलहरको तयारीमा जुट्नू

मंगलवार , कार्तिक ११, २०८२

महोत्तरी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछिको बदलिँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै देशभर शान्ति–सुरक्षा, सुशासन र आसन्न निर्वाचनको तयारीमा सम्पूर्ण सुरक्षा निकायहरूलाई एकजुट भएर जुट्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीमा मंगलबार आयोजित मधेश प्रदेश स्तरीय सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै गृहमन्त्रीले अर्यालले यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, 'वर्तमान सरकारका तीन प्रमुख प्राथमिकता छन् — पहिलो, आन्दोलनपछिको शान्ति–सुरक्षा र सेवा प्रवाहलाई सामान्य बनाउनेस दोस्रो, आगामी फागुन २१ गते स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने र तेस्रो, सुशासन प्रवर्द्धन गर्ने।'

उनले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण र राहत कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए। 'मृतकका परिवार र घाइतेहरूको सम्मान तथा उपचारका लागि सरकारले थप निर्णय चाँडै लिन्छ,' गृहमन्त्रीले स्पष्ट पारे।

निर्वाचन तयारीलाई सरकारको प्रमुख एजेन्डा बताउँदै उनले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षा सुदृढ गर्न, मतदान केन्द्रहरूको अवस्थाको विश्लेषण गरी शीघ्र प्रतिवेदन पठाउन र संयुक्त गस्तीमार्फत नागरिकमा सुरक्षाको भरोसा जगाउन निर्देशन दिए।

उनले भने, 'केन्द्रबाट गर्नुपर्ने नीतिगत र कानुनी तयारी पूरा हुँदैछ। अब प्रदेश र जिल्लास्तरमा तपाईंहरूले निर्वाचन सुरक्षा योजनालाई अन्तिम रूप दिनुहोस् र कार्यान्वयनमा कुनै कमी रहनुहुँदैन।'

त्यस अवसरमा उनले सुशासन र पारदर्शितालाई सरकारको अर्को महत्त्वपूर्ण एजेन्डा बताउँदै सेवा प्रवाहमा सुधार, निष्पक्ष अनुसन्धान, राजस्व चुहावट नियन्त्रण र अपराधमाथि कडाइ गर्न सुरक्षा निकायहरूलाई आह्वान गरे।

गृहमन्त्रीले चिसो मौसमसँगै तराईमा देखिने शीतलहरको जोखिम न्यूनीकरणका लागि समयमै तयारी र समन्वय गर्न पनि निर्देशन दिए।

बैठकमा गृह सचिव, मधेश प्रदेशका प्रमुख सचिव, मध्यपूर्वी पृतनाका पृतनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरू तथा सर्लाही, सिराहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077