काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तिरिम सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन । ६ महिनाका लागि गठन भएको सरकारलाई कार्कीले दुई महिनासम्म पनि पूर्णता दिन सकेकी छैनन् ।
भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्की सरकार गठनमा अलमलिरहेका बेला गृहमन्त्री नै परिवर्तनको चर्चा भइरहेको छ ।
विभिन्न एनजीओ तथा आइएनजीओको सहमतिमा नयाँ सरकार गठन भएको आरोप खेपेकी कार्कीले गृहमन्त्री परिवर्तनको विषयमा भने अहिलेसम्म केही पनि प्रतिक्रिया दिएकी छैनन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को सिफारिसमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याल आफ्नै बोलीका कारण पछिल्लो समय विवादमा पर्न थालेपछि प्रधानमन्त्री कार्की समेत समस्यामा परेकी छन् ।
बालेन स्वयम पनि अर्यालसँग सन्तुष्ट नगरेको समाचारहरु आइरहेका बेला नागरिक समाज र विज्ञ समूहबाट गृहमन्त्रीका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाम उठेको छ ।
प्रमुख निर्वाचन आयुक्त हुँदा संविधानसभाको दोस्रो निर्वाचन गराउन सफल भएका उप्रेती गृहमन्त्री बनेको खण्डमा चुनावी सरकारले राम्रोसँग काम गर्न सक्ने विज्ञहरुको आँकलन छ । जेनजी पुस्ताले समेत उप्रेतीको नाममा सहमति जनाइसकेको स्रोतको दावी छ ।
अहिलेको विषम परिस्थितिमा उनलाई गृहमन्त्री बनाएको खण्डमा चुनाव सम्पन्न हुनेमा जेनजी युवादेखि विज्ञ समूहसमेत ढुक्क रहेको चर्चा छ ।
२०६९ फागुन १२ गते निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त बनेका उप्रेतीले २०७२ बैशाख २ गतेसम्म कार्यभार सम्हालेका थिए । उनी भारतका लागि नेपाली राजदूत समेत सिफारिस भएका थिए ।
को हुन् उप्रेती ?
पश्चिम नेपालको पर्वत जिल्लामा जन्मेका उप्रेतीले २०२५ सालमा चितवनको गीतानगरस्थित अरुणोदय माविबाट द्वितीय श्रेणीमा एसएलसी उतिर्ण गरेका थिए ।
त्यसपछि मात्रै राजधानी प्रवेश गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने बेलायतको स्टाफोर्डसायर विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा एमएस गरेका छन् ।
निर्वाचनका सबै प्रक्रिया कागजी फाइल र लिखितममा चलेको आयोगलाई डिजिटलाईज्ड’ गर्ने अभियन्ता हुन् उप्रेती ।
अफगानिस्तानमा राष्ट्रपतीय संसदीय तथा राज्य परिषद्को निर्वाचनका दौरान संयुक्त राष्ट्रसंघले उप्रेतीलाई त्यहाँ वरिष्ठ निर्वाचन समन्वयकर्ताका रूपमा कार्य गर्न नियुक्त गरेको थियो ।
उनले डानिडाका तर्फबाट निर्वाचन आयोग नेपालका लागि आयोजना व्यवस्थापक÷वरिष्ठ निर्वाचन सल्लाहकारका रूपमा सन् १९९९ र २००४ मा कार्य गरेका थिए । सो अवधिमा उन निर्वाचन आयोगलाई विकेन्द्रीकरण गर्न र क्षेत्रीय कार्यालयको स्थापना र क्षमता अभिवृद्धिमा सक्रिय रूपमा सहभागी भएका थिए।
उनका महत्त्वपूर्ण योगदानमा निर्वाचन आयोगको क्षमता अभिवृद्धि तथा निर्वाचन दर्ता प्रणालीमा सुधार दुई मुख्य हुन् ।
सन् १९९० मा नेपालमा प्रजातन्त्र पुनर्स्थानिा हुँदा उप्रेती योजना बनाउने र निर्वाचन व्यवस्था गर्नेमा सक्रिय रूपमा सहभागी भए ।
सन् १९९० पछिका नेपालका पाँचवटै निर्वाचनको योजना तुर्जमा, व्यवस्थापन र कार्यान्वयनमा विभिन्न पदमा उनको सहभागिताले उनलाई अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक निर्वाचन विज्ञका रूपमा विकास गर्ने अवसर दियो ।
सन् १९९७ देखि २००४ सम्म उप्रेतीले संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, डेनमार्क र संयुक्त अधिराज्यको कानुनी प्रावधान र निर्वाचन व्यवस्थापन प्रणाली अध्ययन गरेका थिए ।
उप्रेतीसँग श्रीलंका, भारत, बङ्गलादेश, जोर्डन, इजरायल, प्यालेस्टाइन र लेबनानमा पनि निर्वाचन प्रक्रिया र निर्वाचनको अध्ययन र अवलोकनको अनुभव छ ।