काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी एकदिवशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ।
दुबईस्थित आईसीसीए मैदानमा हुने यो खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने भएको छ भने नेपालले ब्याटिङ गर्ने भएको छ।
खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
आजको खेल नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ। जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ ।
पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।
नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ ।
अहिले लिग–२ को अंक तालिकामा अमेरिका शीर्षस्थानमा छ । २२ खेलमा १६ जितसहित अमेरिकाको ३२ अंक हुँदा नेपाल १८ खेलमा ५ जितसहित १२ अंकमा सातौं स्थानमा छ।