काठमाडौं। अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग नेपालका लागि कोरिया राजदूत पार्क ते यङले शिष्टाचार भेटवार्ता गरेका छन्।
अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि आशा व्यक्त गरे ।
कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै खनालले कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिइने बताए।
भेटमा राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको स्मरण गर्दै आगामी दिनमा थप समन्वय र सहकार्यका आशा व्यक्त गरे।
नेपाली कामदारलाई रोजगारीका लागि कोरिया लैजान सहज होस् भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको पनि जानकारी गराए।
त्यसैगरी उनले ईपीएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकको उद्यमशीलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको बताए।
छलफलमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह-सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।