काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन कि भन्ने संशय हटेको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले सुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु आइपरे पनि निरन्तरको संवाद र दलहरुसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताएका हुन्।
उनले अनुसार यो सरकार बनेको ५–६ हप्तासम्म निर्वाचन नहुने हो कि भन्ने आशंका रहे पनि अहिले हटेको बताए।
उनले भने- 'जुन आशंका आम मानिससँगै राजनीति वृत्तमा सरकार बनेको ५–६ हप्तासम्म थियो, निवार्चन हुँदैन भन्ने थियो। जेलबाट भागेका कैदीहरु निस्केका छन्। हतियारहरु बाहिर छन्। पुराना पुस्ताका धेरै शासन सत्ता चलाएका नेताहरुलाई देख्नै चाहँदैनन्। उनीहरुसँग वार्ता नै गर्न चाहँदैनन्। परस्पर संवादको वातावरण नै छैन। यस्तो अवस्थामा यो सरकारले कसरी निर्वाचन गराउन सक्ला भन्ने एउटा ठूलो संशय मुलुकसामु थियो। त्यसलाई अत्यन्तै संयमतापूर्वक कुनै प्रतिरोध नगरी त्यो संशयलाई मेटाउन ठूलो चुनौती थियो।'
खनालले भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको समेत बताए।