काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक कार्यक्रममा सहभागी हुँदा परम्परागत तामझाम र भीआईपी संस्कृति नस्वीकार्ने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले कार्यक्रम आयोजकका लागि नयाँ मापदण्ड सार्वजनिक गर्दै भड्किलो स्वागत, खादा–माला र लामो आसनग्रहणको परम्परामा पूर्णविराम लगाउने स्पष्ट पारेका हुन् ।
मन्त्री खनालले आफू कुनै कार्यक्रममा ‘प्रमुख अतिथि’ का रूपमा नबस्ने बताउँदै बाहिर लाइन लागेर गरिने स्वागत, खादा, माला, अबिर, फूलगुच्छा प्रयोग नगर्न आग्रह गरेका छन्। साथै, मञ्चमा औपचारिक आसनग्रहण र लामो भाषणको चलन अन्त्य गर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'प्रमुख अतिथि हुँदैन। खादा, माला, अबीर, फूलगुच्छ हुँदैन। बाहिर उभिएर स्वागत गर्न पाइँदैन। आसनग्रहण हुँदैन।'
उनका अनुसार समय मिलेमा आफू कार्यक्रम हलमा सुटुक्क प्रवेश गर्ने, तोकिएको सामान्य सिटमा बस्ने र बोल्नै परे बढीमा पाँच मिनेट मात्र बोल्नेछन्।
'समय मिले म खुसुक्क हलमा छिर्छु। तोकेको सिटमा बस्छु। बोल्न भनिए ५ मिनेट मात्र बोल्छु। मायाको चिनो लिन्नँ, र दिन पाइन्न,' उनले भनेका छन्।