Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकहरुको अर्बौं रकम डुबाउने चलाउने सीआईबीको पञ्जाबाट कसरी उम्किरहेका छन् ?

बैंकहरुको अर्बौं रकम डुबाउने चलाउने सीआईबीको पञ्जाबाट कसरी उम्किरहेका छन् ?

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । विभिन्न बैंकहरुको अर्बौं रुपैयाँ ऋण लिएर फरार भएका सुन तस्करीका नाइके जीवन चलाउनेविरुद्ध नेपाल प्रहरीले डेढ वर्ष अघि नै डिफ्युजन नोटिस जारी गरेपनि हालसम्म उनी कहाँ के गरिरहेका छन् भन्ने बारे सुईंको समेत पाएको छैन ।

लामो समय वितिसक्दा पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले चलाउनेजस्ता सुन तस्करी र बैंक डुवाउने गिरोहका नाइकेलाई पक्राउ गर्न नसक्नुले प्रहरीमाथि नै आशंका उब्जिएको छ ।

प्रहरीले चलाउनेविरुद्ध सुन तस्करी काण्डमा २०८१ वैशाख ६ गते डिफ्युजन नोटिस जारी गरेको थियो ।

ठमेलस्थित भियना होटलका सञ्चालक तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएका चलाउनेविरुद्ध ब्रेक प्याडभित्र ६० किलोभन्दा बढी सनु लुकाएर तस्करी गरेको प्रकरणमा डिफ्युजन नोटिस जारी भएको थियो ।

सुन तस्करीमा दावा छिरिङ पक्राउ परेपछि चलाउने पनि अनुसन्धानमा तानिएका थिए ।

सीआइबीले छिरिङ र चलाउनेसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा मुद्दा चलाइएको थियो ।

चलाउनेले भने आफूलाई पूर्वएआईजी श्याम ज्ञवालीले आईजीपी बन्ने नाममा करोडौं रकम बार्गेनिङ गरेको र नदिएपछि फसाएको आरोपसहितको भिडियो बाहिर ल्याएका थिए ।

सोही प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पनि थुनामा छन् ।

सुन तस्करीमा मुछिएका चलाउने तिनै व्यक्ति हुन्, जसले बैंकहरुको अर्बौं रकम डुबाएका छन् । चलाउनेको मस्टा ग्रुप अफ कम्पनीमा विभिन्न बैंकहरुले झण्डै डेढ अर्ब कर्जा दिएकोमा उनले धेरैको सावाँ समेत तिरेका छैनन् ।

चलाउनेको मस्टा ग्रुपले लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, प्रभु, हिमालयनलगायतका बैंकहरुलाई गरी करिव डेढ अर्ब तिर्न बाँकी छ । तर, चलाउन कहाँ के गरिरहेका छन् भन्ने बारेमा सीआईबीले अहिलेसम्म पनि खोज्न सकेको छैन ।

बैंकिङ कसुरको मुद्दामा सीआईबीले विदेशबाट कतिपय व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याएर मुद्दा चलाएका धेरै उदाहरणहरु छन् । तर, चलाउने बैंकिङ कसुरसहित धेरै काण्डमा मुछिएका व्यक्ति भएपनि उनलाई सीआईबीले अझै पक्राउ गर्न किन चासो दिइरहेको छैन ? वित्तीय क्षेत्रबाटै प्रश्न उठ्न थालेको छ ।

चलाउनेको प्रहरीका केही अधिकारीहरुसँग राम्रो सम्बन्ध रहेका कारण पनि उनी कतै कानूनी दायरामा आउनबाट बचेका त छैनन् ? सीआईबीले बैंकिङ कसुर, सुन तस्करी तथा क्रिप्टो र हुण्डीमा संलग्न धेरैलाई विदेशबाट पक्राउ गरेर ल्याएपनि चलाउनेको हकमा भने छुन सकिरहेको छैन ।

क्रिप्टोका डन रुपेश श्रेष्ठसँग कनेक्सन देखिएका उमेश श्रेष्ठ अमेरिकामा बसेर धन्दा चलाइरहेका छन् । श्रेष्ठको पनि सीआईबीका अधिकारीहरुसँग उठबस रहेको बताइन्छ । सीआईबीमा एआईजी मनोज केसी आएसँगै क्रिप्टोको यो समूह उत्साहित रहेको एक अधिकारीले बताए । कतै चलाउनेको पनि यहि समूहसँग कनेक्सन छैन र उनी जोगिएका त होइनन् ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

त्यसो त चलाउनेलाई सीआईबीकै अधिकारीहरुले २ वर्ष अघि नै भगाएका थिए । २०८० भदौ २० गते सीआइबी पुगेर बयान दिएका उनी त्यसपछि फरार भएका हुन् । उनी दुबई हुँदै अमेरिका पुगेको आशंका गरिदैं आएको छ ।

भुटानी शरणार्थीलगायतको घटनाको अनुसन्धान गरेर आफूलाई सफल भएको दावी गर्दै आएका सीआईबीका प्रमुख एआईजी डा. मनोज कुमार केसीले चलाउनेमाथि भने कुनै एक्सन लिन सकिरहेका छैनन् ।

सीआईबीमा जो एआईजी आएपनि चलाउनेलाई इन्टरपोलमार्फत झिकाउने प्रक्रियामा रहेको बताउने गरेका छन् ।

सीआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले चलाउनेमाथिको कारबाही प्रकृयाको बारेमा आफूसँग कुनै अपडेट नभएको अनलाइन नेपालसँग बताए ।

चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भइसकेको छ । सम्पत्ति सुद्धीकरण विभागले चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुई अर्ब सात करोड ६२ लाख रुपैयाँबराबरको मुद्दा दायर गरेको हो ।

चलाउनेले सुन तस्करीबाट कमाएको रकम प्रयोग गरी विभिन्न जिल्लामा जग्गा खरिद गरेको प्रमाण फेला परेपछि विभागले सोमबार उक्त मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा चलाउनेले झापा, काठमाडौं, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको पाइएको छ । जसको अनुमानित मूल्य करिब १५ करोड ३० लाख रुपैयाँबराबर रहेको विभागको भनाइ छ ।

साथै, काठमाडौंको गोठाटारस्थित घरजग्गा उनले अन्य व्यक्तिका नाममा खरिद गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

चलाउनेले अवैध सुन कारोबारबाट प्राप्त रकमसहित कुल २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ शुद्धीकरण गरेको विभागको अनुसन्धानबाट पुष्टि भएको छ । अभियोगपत्रमा भनिएको छ, ‘चलाउनेले खरिद गरेको जग्गाको मूल्य, विदेशबाट ल्याएको ६० किलो ७१६ ग्राम सुन (प्रतितोला रू. १,१२,५०० का दरले) र हिमालयन बैंकमा रहेको खातामार्फत कारोबार गरी निःसर्ग गरेको रकम गरी जम्मा रू. २,०७,६२,१३,५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको ठहरियो ।’

चलाउनेको अपराध यात्रा
सुन तस्करीमा अधुरो अनुसन्धान र गिरोहको सेटिङ भत्काउन सीआईबी असफल भएको अपुरो अनुसन्धानले नै देखाइरहेका बेला चलाउने एकाएक फरार भएका थिए ।

किनकी चलाउने चामल व्यापारको आवरणमा विगत तीन वर्षदेखि सुन तस्करी लगायत विभिन्न आपराधिक घटनामा सक्रिय रहँदै आएका व्यक्ति हुन् ।

चलाउनेको प्रहरीका उच्च अधिकारीहरुदेखि राजनीति नेतृत्वहरुसँग साँठगाँठ रहेको छ ।

त्यस्तै चलाउनेले सुनको कारोबार गर्न भारतीय नागरिकलाई पार्टनर बनाएको र झण्डै १०० केजी सुन खपत गर्न सकिने सन्देश पठाएको अडियो नै भेटिएको थियो । चलाउनेको सम्पर्क पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमका छोरा हरीश र नेकपा (एमाले)का नेता ऐन महरसँग पनि रहेको अनुसन्धानका क्रममा भेटिएको थियो ।

जीवन चलाउने उनै व्यक्ति हुन्, जो केही वर्ष अगाडि प्रहरीकै सुराकीका रुपमा काम गर्दथे । बहिर देखाउँदा जीमी ब्राण्डको चामल व्यापार गर्ने र भित्री रुपमा आपराधिक गिरोहहरुसँग साँठगाँठ गरी चलाउनेले अवैध सम्पत्ति आर्जन गर्दै आएका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसँग समेत चलाउनेको सम्पर्क रहँदै आएको छ । उनै बस्नेतको बाफलको घर पनि उच्च प्रहरी अधिकारीसँगको सेटिङमा चलाउनेले खरिद गरेका थिए ।

काठमाडौंमा मात्र चारवटा अपार्टमेन्ट रहेका चलाउनेसँग आधा दर्जन करोडभन्दा माथिका महंगा गाडी रहेको उनलाई नजिकबाट चिन्ने एक प्रहरी अधिकारी नै बताउँछन् ।

न्यूरोडमा हुण्डीको पैसा प्रहरीको मिलेमतोमा लुटिएको एक घटनामा पनि चलाउनेको संलग्नता रहेको छ । विकास अग्रवाल नामका हुण्डी ब्यापारीले केही वर्ष अघि सहकारीबाट रकम झिक्ने क्रममा प्रहरीकै मिलेमतोमा लुटपाट भएको थियो । चलाउनेको अग्रवालसँग कारोबार रहेको उतिबेलै खुलेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077