काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता नभए कारवाहीको चेतावनी दिएका छन् ।
एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त भएलगत्तै राप्रपा सांसद कन्चन बिच्छा मन्त्री नियुक्त भएकी थिइन् । अध्यक्ष लिङ्देनले यो प्रकरणलाई गम्भीररुपमा लिएको बताएका छन् ।
उनको वक्तव्यमा भनिएको छ- ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु।’
राप्रपाका संघीय र प्रदेश सभाका सबै सांसदले गत भदौ २४ गते पदबाट सामूहिक राजीनामा दिएका थिए। सामूहिक राजीनामा दिएकी सांसद अहिले मन्त्री भएका छन्।
आइतबार अबेर राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनलाई सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एउटा होटलमा प्रदेश प्रमुख भण्डारीले सपथ ग्रहण गराएकी हुन्।
मुख्यमन्त्री बनेपछि यादवले तीन जना मन्त्रीसमेत नियुक्त गरेका छन्। एमालेबाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका थिए।