काठमाडौं । नेपाल र भारतबीचको सीमा सुरक्षा समन्वय बैठकमा दुबै देशका सुरक्षा निकायहरूबीचका साझा चुनौती र सहकार्यका विषयमा विस्तृत छलफल भएको छ ।
भारतको नयाँदिल्लीमा बुधबारदेखि सुरु भएको बैठकमा फरार कैदीबन्दी नियन्त्रण, लुटिएका हतियार पुनःसङ्कलन, लागुऔषध तस्करी र सीमापार अपराध नियन्त्रण जस्ता विषयहरू मुख्य एजेन्डा बनेका छन् ।
बैठकमा नेपालका तर्फबाट सहभागी सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले जेलबाट फरार भएका कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षा चुनौती बढेको बताउँदै त्यसमा संयुक्त रूपमा नियन्त्रण र जानकारी आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।
नेपालले भारतीय पक्षसँग सीमामा हुने नेपाली नागरिकमाथिको दुर्व्यवहार र लुटपाट रोक्न, भारतबाट आउने लागुऔषध नियन्त्रण गर्न, राजस्व छली रोक्न तथा सीमाक्षेत्रमा सुरक्षा संयन्त्र सुदृढ गर्न आग्रह गरेको छ।
जवाफमा भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले दुबै देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै भने, 'फरार अपराधी र सीमापार अपराध नियन्त्रणका लागि भारत नेपालसँग नजिकबाट काम गर्न तयार छ।'
बैठकमा दुबै पक्षका वरिष्ठ अधिकारीहरूले यसअघि भएका समझदारी र कार्ययोजनाको समीक्षा गर्दै आगामी रणनीतिक खाका तय गर्ने तयारी गरेका छन् । दुई दिने बैठक भोलि सकिनेछ।