काठमाडौं । तत्कालिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी रहेका शारदा प्रसाद अधिकारी बैंकिङ कसुरको मुद्दामा फरार भएका छन् ।
जगदम्बा स्टिल्स कम्पनीका प्रतिनिधि विजय तिमल्सेनाले दायर गरेको जाहेरीपछि अधिकारीमाथि बैंकिङ कसुरको अभियोग पत्र सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा बुझाएको हो । अधिकारी हाल अदालतको फरार सूचीमा छन् ।
प्राप्त जानकारी अनुसार अधिकारीको स्वामित्वमा रहेको ‘सिपेल शैलुङ जेभी’ कम्पनीले जगदम्बा स्टिल्सबाट खरिद गरेका निर्माण सामग्री बापत ९७ लाख १३ हजार ८ सय ४५ रुपैयाँ तिर्न बाँकी राखेको थियो ।
त्यस बापत उनले पटक–पटक गरेर ५० लाख ८ हजार ९ सय ४९ रुपैयाँ बराबरको चेक दिए पनि ती सबै २०८१ साउन १७ गते साट्न खोज्दा बाउन्स भएका थिए।
चेक बाउन्स भएपछि पीडित पक्षले बैंकिङ कसुर मुद्दा दायर गरेको र सो मुद्दा अदालतमा पुगेको हो । पीडित कम्पनीका तर्फका प्रतिनिधिका अनुसार सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरिसकेको छ ।
अधिकारी प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवासका घरबेटी हुन् । सो निवास जेनजी आन्दोलनका क्रममा जलेपछि प्रचण्ड नयाँ निवासमा सरेका छन्।