एजेन्सी । भारतको बिहार विधानसभा चुनावको मतगणना आज बिहान ८ बजेदेखि सुरु हुँदैछ । भारतीय चुनाव आयोगका अनुसार प्रदेशभरि कडा सुरक्षाका साथ तयारी पूरा गरिएको छ ।
मतगणनाको पूर्वसन्ध्यामा सत्ता गठबन्धन एनडीए र विपक्षी गठबन्धनबीच आरोप–प्रत्यारोप चर्किंदै गएको छ।
यो पटक जनता दल (युनाइटेड) जेडीयू र भारतीय जनता पार्टी (भाजपा) दुवैलाई बराबर १०१–१०१ सिटको भागबण्डा मिलाएको छ, जसका कारण समेत राजनीतिक तापक्रम बढेको विश्लेषण गरिएको छ।
विपक्षी नेता तेजस्वी यादवले मतगणनामा अनियमितता हुन सक्ने आशंका व्यक्त गर्दै चुनाव आयोगलाई पूर्ण निष्पक्षता सुनिश्चित गर्न आग्रह गरेका छन्।
यसैबीच, राष्ट्रिय जनता दल (आरजेडी) नेता सुनील कुमारले मतगणनाको अघिल्लो दिन उत्तेजनात्मक अभिव्यक्ति दिएको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।
बिहारका ३८ जिल्लामा रहेका ४६ मतगणना केन्द्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको बताइएको छ।
गत कात्तिक २० गते पहिलो चरण र कात्तिक २५ गते दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । झन्डै ७ करोड ४५ लाख मतदाता रहेको बिहारमा २४३ सिटका लागि २ हजार १६ उम्मेदवार मैदानमा छन्।