काठमाडौं । देशमा व्याप्त भ्रष्टाचार बढेको भन्दै जेनजी पुस्ताले गत भदौं २३ र २४ गते मुलुकमा जनप्रदर्शन गर्दै उलटपुलट गरेको थियो । त्यसमा सुरक्षामा खटिएको नेपाल प्रहरी प्रत्यक्ष निसानामा परेको थियो ।
प्रहरीको कार्यशैलीप्रति जनतामा बितृष्णा छ । प्रहरीलाई बदनामित बनाउने सबैभन्दा बढी घुमुवा प्रहरी पनि हुन् । घुमुवाले विभिन्न निकायबाट आर्थिक असुली गर्ने, विनाकारण दुःख दिने लगायतका अरोपहरु बेलाबेला लाग्ने गरेका छन् । सबैभन्दा बढी व्यवसायीहरु घुमुवा प्रहरीबाट हैरानी खेप्न बाध्य छन् ।
प्रहरीमाथि अविश्वास रहेकै बेला शनिबार राति घुमुवा प्रहरीले राजधानीको पर्यटक क्षेत्र ठमेलमा दादागिरी गरेको छ । शनिबार राति काठमाडौं महानगरपालिका–२६ नरसिंहचोकमा प्रहरी वृत्त सोह्रखुट्टेका घुमुवा करन श्रेष्ठले एक युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै जेनजी शासनमा पनि प्रहरीको कार्यशैली नसुध्रिएको प्रष्ट देखिन्छ ।
अनलाइन नेपाललाई प्राप्त सिसीटिभी फुटेजअनुसार ठमेलस्थित क्लबको गेटमा पर्यटकलाई बोलाइरहेका आयुष रावलमाथि श्रेष्ठले एकपछि अर्को थप्पड प्रहार गरेका छन् । पिडित रावलका अनुसार उनी क्लबको प्रचार गर्दै पर्यटक बोलाइरहेको थिएँ ।
सोही बेला आइपुगेका दुईजना घुमुवाले दुर्व्यवहार गर्दै झापड हानेको सिसीटिभी फुटेजमा देख्न सकिन्छ । कुटपिटका क्रममा रावलको नाक र मुखमा चोट लागेको छ । घटनास्थलमा घुमुवा मिलन कार्की पनि थिए । फुटेजमा उनले रावललाई कुटपिट गर्दै समातेर टाढा लगेको देखिन्छ ।
त्यसपछि के भएको हो भन्दै घटनास्थल पुगेका ओएसिस क्लबका सञ्चालक धुर्व खड्कासँग समेत घुमुवाले अपशब्द प्रयोग गर्दै विनाकारण पक्राउ गरेका थिए ।
घुमुवा श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको पनि खड्का बताउँछन् । दु:ख दिने नियतले खड्कालाई प्रहरीले बेलाबेला समात्ने गरेको छ ।
दुबै जनालाई प्रहरीले आइतबार साँझ मात्र रिहा गरेको थियो । जेनजी आन्दोलनपछि ठमेललगायत राजधानीका अधिकांश मनोरञ्जन व्यवसाय प्रभावित छन् । पर्यटकको आगमन घटेको, कारोबार ठप्पजस्तै छ ।
तर यही कमजोर परिस्थितिमा घुमुवा प्रहरीद्वारा हुने दुव्र्यवहार र आर्थिक असुलीको आतंकले व्यवसायी झनै त्रासमा परेका छन् । सहायक हवल्दार समेत रहेका घुमुवा श्रेष्ठ यसअघि पनि जुवा काण्डमा पटकपटक कारबाही भोगिसकेका बदनाम प्रहरी हुन् ।
उनी १२ वर्षदेखि सोह्रखुट्टेमा बस्दै आएका छन् । उनले क्लबसँग मासिक रुपमा पैसा असुल्न सञ्चालकलाई तर्साउन खोजेको आरोप छ । ती घुमुवाले अन्य क्लब र रेष्टुरेन्टसँग पनि मासिक रुपमा रकम उठाउँदै आरोप छ ।
यता प्रहरी वृत्त सोह्रखुट्टेको नेतृत्वले भने यिनै श्रेष्ठलाई बारम्बार घुमुवा टोलीमा राख्दै आएको छ, जसले नेतृत्वकै भूमिकामाथि समेत प्रश्न उठेको छ ।
यो विवादित भिडियोपछि उनलाई जिम्मेवारीबाट हटाइन्छ की के गरिन्छ हेर्न बाँकी छ । यता प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले आफू अहिले कार्यालय बाहिर रहेको भन्दै घटनाबारे बुझ्ने अनलाइन नेपालसँग बताए ।