काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयमा भइरहेको सरकारी लगानी दुरुपयोगको छानबिनलाई तीव्र बनाएको छ ।
आयोगले सामुदायिक विद्यालयको भवन निर्माण, कम्पाउन्ड वाल तथा घेराबारा निर्माण, फर्निचर व्यवस्था, आईसीटी तथा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशालालगायतका कार्यक्रम सञ्चालनका क्रममा दातृ निकाय तथा सरकारी निकायबाट प्राप्त बजेट दुरुपयोग भएको उजुरीमा अनुसन्धान गरिरहेको छ ।
भौतिक पूर्वाधार निर्माण तथा खरिदमा मात्र नभइ बालबालिकालाई प्रदान गरिएको दिवा खाजा, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, छात्रवृत्ति, बुक कर्नरलगायतका व्यवस्थापनमा समेत भ्रष्टाचार भएको उजुरी बढेपछि विद्यालयमा अनुसन्धान केन्द्रित गरेको हो ।
आयोगले सोमबार दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति तथा शिक्षक एवं कर्मचारीको कल्याणकारी कोषका लागि कट्टा गरिएको रकम दुरुपयोग गरेको अभियोगमा कपिलवस्तु तौलिहवाको विश्वमैत्री आधारभूत विद्यालयका प्रधानअध्यापकसहितका पदाधिकारीविरुद्ध मुद्दा दर्ता गरेको छ । राजधानी दैनिकबाट