चितवन । नेपाल प्रिमियम लिग (एनपीएल) को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौं लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ ।
राइनोजका अध्यक्ष आयुष न्यौपानेका अनुसार खेल हुने दिनका आधारमा चितवनबाट काठमाडौं जाने ६ वटा बसको व्यवस्था गरिएको हो ।
राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने अध्यक्ष न्यौपानेले जानकारी दिए ।
खेल समाप्त भएपछि पुनः चितवन ल्याइने छ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ। खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो।
बस चितवन मेडिकल कलेज (सीएमसी) को प्राङ्गणबाट छुट्ने छ भने समर्थकलाई त्रिवि मैदानसम्म लैजाने छ। चितवन राइनोजको पहिलो खेल आज ११ः४५ बजे कर्णाली याक्ससँग भइ रहेको छ ।
यसैगरी मङ्सिर ४ गते दिउँसो ४ बजे लुम्बिनी लायन्ससँग, मङ्सिर १० गते ४ बजे विराटनगर किङ्ससँग, मङ्सिर १२ गते ११ः४५ बजे काठमाडौं गोर्खाजसँग चितवन राइनोज खेल्दैछ।
यसैगरी मङ्सिर १६ गते ११ः४५ बजे जनकपुर बोल्टस्सँग, मङ्सिर १८ गते ४ बजे सुदूरपश्चिम रोयल्ससँग र मङ्सिर २० गते ३ः३० बजे पोखरा एभेन्जरसँग चितवन राइनोज खेल्दैछ । यी खेलपछि अंक तालिकाका आधारमा अरु खेल तय हुने छन् ।