काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मठाधीशको संज्ञा दिएका छन् ।
आज काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले माओवादीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गरेको बताए ।
शर्माले भने–‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भइरहेका छौं ।’
पार्टी घोषणा सभामा शर्माले मानव विकास, विश्व र मुलुकको राजनीतिबारे विश्लेषणात्मक घोषणा पत्र प्रस्तुत गरेका थिए ।
उनले विगतका विभिन्न आन्दोलन र पछिल्लो जेनजी विद्राहको बलिदानी खेर जान नदिन राजनीतिक पहल अनिवार्य बनेको बताए । त्यसैका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको उनको भनाइ छ ।
उनले भने–‘मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले राजनीतिले नै समग्र पक्षको अगुवाइ गर्दछ, राजनीति यसको नेतृत्व सही नभएपछि समग्र सामाजिक एवं, सांस्कृतिक प्रणाली, आर्थिक व्यवस्था र सुदृढ राष्ट्र निर्माणको गति रोकिन पुग्दछ, त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख कार्यभार वर्तमान गतिहीन राजनीतिको पुनस्संरचना गर्नु हो, यसका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले निकट भविष्यमा देशका सबै क्षेत्र, बौद्धिक वर्ग, विज्ञ, सबै जातजाती, धर्म, लिङ्ग, भूगोल आदिको सहभागितामा राजनीतिक पुनस्संरचना सम्मेलन आयोजना गर्नेछ ।’
आज काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।
कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा। भट्टराईले औपचारिक रुपमा घोषणा गरे । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ ।
पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।
प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ ।