काठमाडौं । गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा 'प्रभाकर' लाई युवाहरुले कालो झण्डा देखाएका छन् ।
नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला गएका जनार्दनलाई युवाहरुले विरोध स्वरुप कालो झण्डा देखाएका हुन् ।
शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानमार्फत सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा रुकमका कार्यकर्ताहरुले विरोध जनाउँदै कालो झण्डा देखाएका थिए ।
स्थिति अप्रिय नबनोस् भनी सुरक्षाकर्मीको तैनाथी विशेष रूपमा बढाइएको छ ।
शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीले आज आयोजना गरेको युवा भेलामा सहभागी हुन रुकुम पश्चिम पुगेका हुन् । उनले आज पार्टीको नयाँ जिल्ला कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ ।